९ मंसिर २०८१, आईतवार

मुक्तककार काफ्लेको सम्मानमा पुरस्कार स्थापना

कोलोराडोखबर संवाददाता , November 1st, 2024

नेपाल (रौटहट) । रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी नेपालका ख्यातिप्राप्त मुक्तककार हरिकृष्ण काफ्लेको नाममा हरिकृष्ण काफ्ले सम्मान पुरस्कार स्थापना गरिएको छ । मुक्तक मञ्च मकवानपुर, हेटौँडाले हरेक वर्ष एकजना मुक्तककारलाई दस हजार नगद राशिसहितको सम्मान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो ।

उक्त पुरस्कारको व्यवस्थापन हेटौँडाका हास्यव्यङ्ग्यकार आरसी रिजालले गर्नु हुने मुक्तक मञ्च मकवानपुरले जनाएको छ । रिजालले घोषणा गर्नुभएको “हरिकृष्ण काफ्ले सम्मान“ मुक्तककार हरिकृष्ण काफ्लेको नामबाट प्रदान गरिने पहिलो पुरस्कार हुनेछ । योसँगै मुक्तक मञ्च मकवानपुरले प्रदान गर्ने चौथो पुरस्कारको रूपमा यो सम्मान स्थापना भएको छ ।

मकवानपुरको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका रिजालले साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरलाई हेटौँडा उपमहानगरपालिका ४ स्थित भैरवरोडमा चार धुर जग्गा प्रदान गर्नु भएको छ । साथै उहाँले आफ्नै सक्रियतामा पाँच जना साहित्यकारहरूको प्रतिमा प्रतिस्थापना र साहित्यिक पुरस्कारको व्यवस्थापन गर्नुभएको छ ।

आफ्नो पिता तोयनाथ र माता अणकुमारी रिजालसँगै उहाँले युद्धप्रसाद मिश्र, केशवराज पिंडाली (चट्याङ मास्टरसहित संयुक्त) र आफ्नो नामबाट पुरस्कार व्यवस्थापन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्