२१ पुष २०८१, आईतवार

युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी

कोलोराडोखबर संवाददाता , October 30th, 2024

नेपाल । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा एनआरएनएका विषयलाई समेट्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गैरआवासीय नेपाली दिवस वार्षिक साधारण सभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौ सत्र राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण लाई सोमबार सम्बोधन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको छ । मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुँदैछ । तपाईहरुको केही कुरा राख्न सकिन्छ ।’

मन्त्री चौधरीले युवाहरु विदेशिने क्रम बढेको बताउनुभयो । ‘जनसंख्याको ४२ प्रतिशत युवा छ । तीनै तहमा ४५ प्रतिशत युवाहरु राजनीतिमा काम गरिरहेका छन् । त्योभन्दा बढी युवाहरु दिनप्रतिदिन विदेश पलयान भइरहेका छन् । कोही पढ्न, कोही रोजगारीको सिलसिलामा गइरहेका छन् । १२ कक्षा पास गरिसकेपछि म विदेश जान्छु भन्ने धारणा छ । स्नातक तहमा विद्यार्थी अभाव छ । निकट भविष्यमा शिक्षकहरुको अभाव हुने अवस्था आउँदैछ । विदेशी शिक्षकहरु ल्याएर पढाउनुपर्ने बाध्यता देखिँदैछ,’ उहाँले भन्नुभयो । यद्यपि नेपाली युवाहरु आइटीमा अगाडि बढेको र नेपालमै खर्ब हाराहारी आम्दानी गर्नु सुखद भएको बताउनुभयो ।
मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रहि फरक फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता, पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताउनुभयो ।

भाषा, सस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न सकिने र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा योगदान लिन सकिने मन्त्री चौधरीले बताउनुभयो ।

मन्त्री चौधरीले खेलकुदका पूर्वाधारको विकास, ज्ञानको परीक्षण र आदान प्रदानमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो । यसका लागि राज्यले नीतिगत कानुनी र संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । ’नेपालमा खेलकुद पूर्वाधारहरु छैन । एनआरएनका साथीहरुले यसमा ध्यान दिनुहोला । एनआरएनका लगानीकतालाई खेलकुदमा, पूर्वाधार विकासमा, तालिममा सहयोग गर्न आह्वान गर्दछौं,’ उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले निकट भविष्यमा खेलकुद सद्भावना दूत एनआरएनकै तहबाट राख्न लागेको र चाँडै मन्त्रिपरिषद्बाट निर्णय गरिने जानकारी दिनुभयो । पूर्वकानुनमन्त्री एवं एमाले नेता पदम गिरीले नयाँ पुस्तालाई नेपालको राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस योजना जरुरी रहेको बताउनुभयो । ‘यसमा विलम्बन नगरी छिटोभन्दा छिटो नीतिहरु ल्याउनुपर्छ । राज्यले गम्भीरतापूर्वक लिनुपर्छ,’ उहाँले भन्नुभयो ।

प्रवासी नेपाली युवाहरुले हासिल गरेको ज्ञान, सीप, क्षमता, पुँजी भित्र्याउन वातावरण बनाउन राज्यका तर्फबाट छिटो र फराकिलो दायराका साथ काम गर्नुपर्ने भन्दै उहाँले त्यो हुन नसकेको बताउनुभयो । ‘राज्यका अड्चनका कारण दोस्रोपटक फर्केर आउन समय लाग्ने अवस्था छ । यसमा राज्य गम्भीर हुन जरुरी छ,’ उहाँले भने । सरकारले संवेदनशील भएर योजनाहरु बनाउनुपर्ने, थिंक ट्यांकहरुबाट अध्ययन गराएर युवाहरु नेपालको समृद्धिमा जोड्न बृहत अध्ययन गर्नुपर्ने गिरीले बताउनुभयो ।

नेपालको शिक्षा क्षेत्रमा प्रवास रहेको गुणस्तरीय पुस्तालाई जोड्न योजना बनाउन जरुरी रहेको बताउँदै यसले सबै क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । आफू स्वास्थ्यमन्त्री हुँदा प्रवासमा रहेका युवाहरुसँग छलफल गर्दा ६ महिनासम्म स्वयंसेवक भएर काम गर्न तयार छौं भनेर आएको भन्दै यसमा डायस्पोरालाई जोड्न राज्य चुकेको बताउनुभयो । यो कुरामा प्राथमिकताका साथ ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

पर्यटनका लागि नेपालको उच्च सम्भावना रहेको भन्दै उहाँले बुद्ध जन्मेको देश भनेर चिनाउन अपिल गर्नुभयो । ‘सगरमाथाको देश, हिमचुलीहरुको देश, आराध्य देव भगवान पशुपतिनाथको देश भनेर प्रचार गर्न सकिएको छैन । त्यसमा तपाईहरु लाग्नुस् । डायस्पोरा एम्बास्डर हो । प्रवर्द्धनमा राज्यले उपयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

आइटी सेक्टरमा पनि डायस्पोराले थुप्रै प्रगति गरेको भन्दै यसलाई अझै विकास गर्नुपर्ने धारणा राख्नुभयो । आधुनिक कृषिमा डायस्पोरालाई जोड्न नीतिहरु अनुकूल नभएको भन्दै नीतिमा परिमार्जन गरेर सम्भावनाहरु अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा उत्पादन भएका गार्मेन्ट, कृषि उपजजस्ता वस्तुहरु विश्व बजारमा पुर्याउन एनआरएनएको भूमिका हुने उहाँको भनाइ थियो । विदेश बसाइँसराइ स्वभाविक भएको र मान्छे अवसर खोज्दै हिँड्नु स्वभाविक भएको उहाँले बताउनुभयो । संसारका युवा नेपाली भित्र्याउन र उनीहरुको पुँजी भित्र्याउन सोच्नुपर्नेमा गिरीले जोड दिनुभयो ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि मानव सभ्यताका लागि बसाइँसराइ नियमित प्रक्रिया भएको बताउनुभयो । राष्ट्र निर्माण अगाडि सकारात्मक धारणा विकास गर्नुपर्ने उहाँको भनाइ छ । ‘पोजेटिभ इटिट्युड निर्धारण गर्न सकियो भने कसरी राष्ट्र निर्माण गर्ने स्पष्ट हुन्छ,’ उहाँले भन्नुभयो । सिस्टम ब्रेक गरेर नेपालीहरु विश्वभर फैलिएको भन्दै बेटर सिस्टमका लागि बल लगाउनुपर्ने बताउनुभयो । यसका लागि पनि सकारात्मक धारणा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । ’नेसल बिल्डिङभन्दा अगाडि परिवारको युनिटीको विकास गरौं । सबैले दशैमा एकै ठाउँमा टिका लाउने वातावरण बनाउ । जसले पोजेटिभ भाइब्स ल्याउँछ । त्यसपछि राष्ट्र निर्माणको कुरा आउँछ,’ उहाँले भन्नु भयो ।

बाध्यताले छोराछोरी विदेश पठाउने र गएकाहरु देश आइदिए हुन्थ्यो भन्ने धारणाको तादाम्यता मिलाउन जरुरी रहेको उहाँले बताउनुभयो । झाँक्रीले विमानस्थलको भिडको स्वभाविक भएको बताउनुभयो । ‘२५ सय मान्छे जाँदा २५ सय मान्छे लिएरै आउँछ । बिजनेस हो । देशै रित्तियो भन्ने होइन,’ उहाँले भनिन् । नेपालमा रिभर्स माइग्रेसनको बेला भइनसकेको उहाँको भनाइ थियो ।

‘रिसिभ कन्ट्रीको अवस्था र तपाइहरु आउने अवस्थाको तालमेल नभई रिभर्स माइग्रेसन हुँदैन । यद्यपि बहस जारी राखौं । यदि नेपालमा बृहत लगानी भयो । त्यसबाट रोजगारी सिर्जना भयो । अर्थतन्त्र भाइब्रेन्ट जनशक्तिहरु आउने कुरा होला । अहिले त्यो अवस्था छैन ।’

उहाँले एनआरएनलाई च्यारिटीभन्दा धेरै मुनाफा हुने कामहरु गर्न सुझाव दिनुभयो । एनआरएनको पहिचानसहित सम्भावना भएको क्षेत्रमा साझा रुपमा लगानी गरिएमा रोजगारी सिर्जना हुने र यसले युवाहरुलाई आकर्षित गर्ने झाँक्रीको भनाइ थियो । ‘यो रियालिटीमा काम गर्यौ भने अबको १०–१५ वर्षमा अवस्था परिवर्तन हुनसक्छ,’ उनले भनिन्, ’कानुनका कुराहरु, भावनाका कुराहरु गर्दै जाऊ ।’

प्रवासमा नेपालीहरु विभाजित हुन नहुने झाँक्रीको भनाइ थियो । ‘डायस्पोराहरुले नेपालको रिप्रजेन्ट गरौं । पार्टी, जाति हेरेर नबसौं,’ उहाँले भन्नुभयो्, ‘अस्ति प्रधानमन्त्रीको अमेरिका भ्रमणमा जे भयो त्यो राम्रो भएन । कुनै पार्टीको होइन देशको प्रधानमन्त्री हो । हरेक नेपालीको प्रतिनिधित्व हो । खिसिट्युरी हुनु सम्पूर्ण नेपालीकै अपमान हो । यसमा ध्यान दिउ । पोजिटिभ एटिट्युटमा ध्यान दिउ । लगानीको वातावरण बनाउ । यसो भयो भने सेकेण्ड जेनेरेसन नेपालमा ल्याउन सकिन्छ ।’
कांग्रेस नेता एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विमानस्थलको भिड खुसीको कुरा भएको बताउनुभयो । ‘इकोनोमिक मोबिलिटीलाई सकारात्मक रुपमा लिँदैछौ कि नेगेटिभ रुपमा ?’ उहाँले सोध्नुभयो । नेपालको हरेक सुखदुखमा साथ दिने प्रवासी नेपालीलाई देशमा आउँदा गरिने व्यवहारमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । कार्कीले दोस्रो र तेस्रो पुस्ताका नेपालीको सीप र पुँजीलाई भित्र्याउन राज्यले ढोका खोल्नुपर्नेमा जोड दिनुभयो । ’७० लाख नेपालीका सन्तानलाई नेपालको विकासमा ल्याउन सकियो भने समृद्धिमा टेवा पुग्छ,’ उहाँले भन्नुभयो ।

एनआरएन युवा उपाध्यक्ष रोशन थापाले नेपाली जनशक्ति पठाउने र उनीहरुको सीप क्षमता र पुँजी ल्याउने दोहोरो हुनुपर्ने बताउनुभयो । नयाँ पुस्तासँग भोट र नोटको अपेक्षा नगर्न उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्