२१ पुष २०८१, आईतवार

एनआरएनएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

कोलोराडोखबर संवाददाता , October 29th, 2024

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार देखि काठमाण्डौंमा सुरु भएको वार्षिक साधारण सभा तथा ग्लोबल कन्क्लेभ-२०२४ सम्पन्न भएको छ ।

‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आदी दर्जन भन्दा बढी मन्त्रीहरु विभिन्न शीर्षकको छलफलमा सहभागी हुनु भयो ।

संस्थाको वार्षिक साधारण सभा २०२४ को बन्द सत्रमा, विभिन्न देशबाट भौतिक तथा अनलाइन माध्यमबाट सहभागी प्रतिनिधिहरूबीच विविध छलफल भई वार्षिक संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, क्षेत्रीय प्रतिवेदन लगायत सम्पूर्ण विषयहरुमा सर्वसम्मत रुपमा पारित भएको महासचिव गौरीराज जोशीले जानकारी दिनु भयो ।

यस्तै, विश्वभरका गैरआवासीय नेपालीहरूबीच आपसी विश्वास, समझदारी, एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्न आह्वान गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे लगायत संघीय, प्रदेश, र स्थानीय तहका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू,सञ्चारकर्मीहरू तथा ६० भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्