–रमेशचन्द्र घिमिरे–
उसका सन्तानले केही काम गरेनन् । धान चामल बेचेको पैसाले सहरमा पढ्न थालेपछि उनीहरू उतै हराए ।
“पैसा बेचेर पैसा कमाउन सकिन्छ ।” ऊ बारम्बार यही भन्ने गर्थ्यो । सुन्नेले आश्चर्य मान्थे ।
आफ्नै खेत गर्ने हली आइतेले “अरब गएर कमाउनासाथ ब्याज सहित पैसा बुझाउँछु” भनेपछि सयकडा पाँच मोहरको सर्तमा पैसा बेच्यो ।
बेलाबेलामा घरको काम र काठका काममा टाकनटुकन सघाउने सोमेले “दुबई गएपछि पैसा भुक्तान गर्ने” सर्त राख्यो । पैसा फेरि बेचियो ।
बाउसे काममा पत्याउने गरेको मङ्गलेले पनि कतारको भिसा आएको कुरा झिक्यो । भनेबमोजिमको ब्याज पाउने सर्तमा त्यहाँ पनि पैसा बेच्यो ।
नभन्दै उसले पैसा बेच्यो र ग्राहक इमानदार पर्नाले पैसैपैसा कमायो ।
आखिर मुरीका मुरी धान फल्ने उसको खेत बाँझै रह्यो, भट्ट र मास उम्रिने आँठो बाँझै रह्यो, मास फल्ने बारी बाँझै रह्यो । साग उम्रिने करेसाबारी बाँझै रह्यो । पैसा बेचेर आएको पैसाले अब उसले चामलका बोरा, दालका बट्टा, मस्यौराका पोका, सागका मुठा र डेरीका दूधका प्याकेट किनेर जीवन चलायो ।
अनि पैसा सकिएपछि बाँझो खेतको आलीमा बसेर विगत सम्झ्यो र धुरुधुरु रुन थाल्यो ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्