३ माघ २०८१, बिहीबार

एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित परिवारलाई राहत वितरण जारी

कोलोराडोखबर संवाददाता , October 23rd, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ ।

बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघको तर्फबाट खाद्य सामाग्री, लत्ताकपडा, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात राहत वितरण गरिएको हो ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।

उक्त अवसरमा अध्यक्ष डा बद्री केसीसहित उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी सचिव टीका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सल्लाहकार अतुल कोइराला, क्षेत्रीय उप–संयोजक अमेरिकाज पूर्णचन्द्र बानिँया, महिला क्षेत्रीय संयोजक इन्दिरा त्रिपाठी, यूरोप महिला संयोजक प्रसुन्ना कँडेल, एनसीसी कोम्बोडियाका अध्यक्ष लालसिंह खड्का, एनसीसी अष्ट्रेलियाकी सह–कोषध्यक्ष रोजी पन्त तथा गैरआवासीय नेपाली अभियन्ता एवं प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, अधिकृत कुनाल मिश्र लगायत थिए ।

यसैबीच, गैरआवासीय नेपाली संघले मधेश प्रदेशका बाढी पिडितलाई राहत वितरण गरेको छ ।

एनआरएनएले सर्लाही जिल्लाको बलरा नगरपालिकाको वार्ड नम्बर २ र ३ मा राहत सामग्री वितरण गरेको गैरआवासीय नेपाली संघका पूर्व महासचिव रतन झाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा १०० परिवारलाई खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू वितरण गरिएको हो । मधेश क्षेत्रका लागि यो विशेष राहत प्याकेजमा सहयोग र्पुयाएको एनआरएनए यूकेलाई झाले धन्यवाद दिए । ठूलो माग र थोरै मात्रामा आपूर्तिको चुनौती भए पनि राहत सामग्री वितरण गर्न सफल भएको झाको भनाई छ । झाले सुरक्षा निकाय नेपाल प्रहरी र एपीएफ लाई राहत सामग्री सहज रूपमा वितरण गर्न सहयोग गरेकामा धन्यवाद दिए ।

मैथिल ब्राह्मण महासभाका स्वयंसेवकहरूलाई राहत सामग्री वितरण गर्न जनस्तरमा गरेको सहयोगका लागि गैरआवासीय नेपाली संघले विशेष आभार व्यक्त गरेको छ । यसअघि संघले प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ र काठमाण्डौं, हेटौडा, पनौति लगायतका क्षेत्रका बाढी तथा पहिरो पिडितहरुको लागि राहत वितरणको थियो ।

प्रतिक्रिया दिनुहोस्