अमेरिका । स्रष्टा साँझ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय बज्जिका साहित्यिक कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
अमेरिकामा रहेका बज्जिका तथा नेपाली भाषाका साहित्यकार विश्वराज अधिकारीको संयोजनमा भएको कार्यक्रममा नेपाल, भारत तथा अमेरिकाका साहित्यकार तथा भाषासेवीहरु सहभागी थिए ।
बज्जिका साहित्यकार सञ्जय साह मित्रको सभापतित्वमा भएको कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले बज्जिका भाषा र साहित्यको इतिहासको बारेमा प्रकाश पार्दै पछिल्ला केही वर्षमा बज्जिका भाषा र साहित्यको विकासको गति सन्तोषजनक भएको बताएका छन् ।
कार्यक्रममा गौरबाट साहित्यकार विन्दा साहनीले बज्जिका साहित्यको वर्तमान अवस्थाबारे प्रकाश पार्दै बज्जिका साहित्यमा पुराना बज्जिका शब्दको प्रयोग अपेक्षित रहेको बताएका छन् ।
यसैगरी बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बज्जिका भाषाको विकासमा लोकसाहित्यको क्षेत्रमा काम गर्नुपर्ने धारण राखेका छन् । साहित्यकार सञ्जय सुदामाले बज्जिका साहित्यको पठनको विस्तार हुनुपर्ने अपेक्षा राखेका छन् । यसैगरी कवि शिवचन्द्र साहले बज्जिका भाषाका रचनालाई अन्य भाषामा अनुवाद हुनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा साहित्यकार राम अधार पासवानले लोकसाहित्यलाई खोज गरी संकलन र प्रकाशन गरेर लोप हुनबाट बचाउनु पर्ने बताएका छन् । यसै गरी काठमाडौँबाट महोत्तरीका साहित्यकार सिद्धान्त चौधरीले बज्जिका भाषालाई पाठ्यक्रम तथा पाठ्यपुस्तकमा राख्न पहल गर्नुपर्ने धारणा राखेका छन् । कार्यक्रममा बज्जिका साहित्य संगम रौतहटका संस्थापक कोषाध्यक्ष मोमताज रायभाटले बज्जिका साहित्य अपेक्षा गरेअनुसार विकासको गतिमा अगाडि बढिरहेको बताउँदै अझै नवयुवा तथा बालबालिकामा विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।
नेपालमा बज्जिका भाषाको पहिलो औपचारिक कार्यक्रम गरेका बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, बज्जिका साहित्य संगम रौतहटका संस्थापक अध्यक्ष श्याम सहनी चन्द्रांशसमेत सहभागी रहेको कार्यक्रममा भारत, बिहारको मुजफ्फररका बज्जिका साहित्यकार रत्नेशले भारतमा बज्जिका भाषा र साहित्यको अवस्थाको बारेमा प्रकाश पारेका छन् ।
कार्यक्रमका सहभागीहरुले स्रष्टा साँझ अमेरिकालाई विश्वराज अधिकारीमार्फत हरेक महिना कम्तीमा एउटा कार्यक्रम बज्जिका भाषामा गरिदिन संयुक्त रुपमा आग्रह गरेका छन् । स्रष्टा साँझ अमेरिकाले हरेक आइतवार नेपाली साहित्यको पुस्तक चर्चा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्