–आर. आर. चौलागाईं–
सत्य कठिन बाटोमा हिँड्यो
असत्य सुगम बाटोमा हिँड्यो ।
सत्य मरुभूमि भएर हिँड्यो
चट्टान भएर हिँड्यो
आगो भएर हिँड्यो
बाढी भएर हिँड्यो
घनघोर रातमा हिँड्यो
काँडा भएर हिँड्यो
सत्य फगत एक्लै हिँड्यो
टुहुरो भएर हिँड्यो
मैले सत्यलाई त्यो बाटो नहिँड
गाह्रो हुन्छ भनेँ
उसले मलाई त्यो बाटो नहिँडे
जित्न सक्तिनँ भन्यो ।
असत्य कार्पेट भएर हिँड्यो
हवाइजहाज भएर हिँड्यो
सुरा धोकेर हिँड्यो
सुन्दरी च्यापेर हिँड्यो
नोटको खातमा हिँड्यो
हिरा, मोती भएर हिँड्यो
असत्य लावालस्कर बोकेर हिँड्यो
फूल, माला र अबिर भएर हिँड्यो
मैले असत्यलाई त्यो बाटो नहिँड
बरबाद हुन्छौ भनेँ
उसले मलाई त्यो बाटो नहिँडे
बाँच्न सक्तिनँ भन्यो ।
सत्य जिन्दगी जित्न हिँड्यो
असत्य जिन्दगी बाँच्न हिँड्यो
जिन्दगी जित्नु र जिन्दगी बाँच्नुमा
के फरक होला ?
–हेटौँडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्