नेपाल(हेटौंडा) । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डीबी बर्तौलाको नवीन तेस्रो मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ सत्याग्रह एक्सप्रेसमा विमोचन भएको छ ।
विमोचन कार्यक्रममा सभाध्यक्ष साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि हयगृव आचार्य रहनु भएको थियो । मुक्तककारका मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचनका क्रममा मकवानपुर, बारा, कपिलवस्तु तथा भारतका साहित्यकार, साहित्य अनुरागीहरूको उपस्थितिमा सो कार्यक्रम भएको हो ।
कार्यक्रममा साहित्यकारहरू मिथिला अधिकारी, अप्सरा पुडासैनी, विष्णुप्रसाद गौतम, माधव पोखरेल र राजबाबु पहाडीले ‘उज्यालोका बाछिटा’ मुक्तक सङ्ग्रहबाट केही मुक्तकहरू वाचन गर्नुभयो भने किशन पौडेलले आफ्ना मुक्तकहरू वाचन गर्नुभयो ।
प्रमुख अतिथि हयगृव आचार्यले मुक्तक सङ्ग्रह ‘उज्यालोका बाछिटा’ को सूक्ष्म समीक्षा गर्ने क्रममा यस प्रकारको विमोचन सायद विश्वमै दुर्लभ रहेको र ऐतिहासिक रहेको बताउनु भयो । उखानको प्रयोग गरी ९२ वटा मुक्तकभित्र राजनैतिक, सामाजिक विषयवस्तुमाथि तिखो व्यङ्ग्य प्रहार गरेको कुरा उहाँले व्यक्त गर्नुभयो । फरक स्वाद र तीव्र व्यङ्ग्यका साथै हास्यात्मक भावको प्रयोग गर्नु र प्रत्येक मुक्तकमा उखानको प्रयोग हुनु आफैँमा नौलो प्रयोग रहेको पाइएको कुरा बताउँदै आचार्यले कृतिगत सफलताको शुभकामना दिनुभयो ।
कृतिकार डीबी बर्तौलाले अनौठो र पृथक रूपमा मुक्तक सङ्ग्रह विमोचन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सभाध्यक्ष रमेशमोहन अधिकारीले ११ दिने साहित्यिक यात्रा गर्ने क्रममा २०८१ असोज १४ गते जुरेको यो अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार डीबी बर्तौलाको ‘उज्यालोका बाछिटा’ विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । बर्तौलाका अघिल्ला कृतिभन्दा उत्कृष्ट रहेको बताउँदै कृतिगत सफलताको कामना गर्नुभयो ।
इन्डिगो इन्कद्वारा प्रकाशित पुस्तक विमोचनको औपचारिक कार्यक्रमलाई साहित्यानुरागी सिताराम दाहालले सञ्चालन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्