–पुरूषोत्तम आचार्य–
भोकले चपाइरहेका
सोमालियाका नानीहरूलाई देखेर पनि
लेखिरहन सक्नुहुन्छ तपाईं
मधुर प्रणयका अश्लील श्लोकहरू
बमले निलिरहेका
‘गाजाका बालाहरू’लाई देखेर पनि
घोकिरहन सक्नुहुन्छ तपाईं
मानवताको भयानक पाठ
‘वसुधैव कुटुम्बकम्’
धर्मले रेटिरहेका
करोडौँ भारतीयहरूलाई देखेर पनि
छरिरहन सक्नुहुन्छ तपाईं
‘जालिम प्रेमको दुर्गन्धित सद्भाव’
मिसाइलले जलाइरहेका
युक्रेनका खण्डहरहरूलाई देखेर पनि
गाइरहन सक्नुहुन्छ तपाईं
‘विश्वशान्तिको दुषित गीत’
उन्छौँ हामी ‘नाटो’को माला
जोड्छौँ नयाँ शक्तिको यो गला
यतिबेला,
अफ्रिकाका हबेलीहरूमा
गुन्जिरहे पनि ‘मधुर प्रणयका राग’
किन सल्किरहेछ साहारामा
आक्रोशको डँढेलो ?
मक्का छेवैको दरबारमा
फहराइरहे पनि ‘मानवताको ध्वजा’
किन छड्किरहेछ खाडीमा
आक्रोशको ज्वालामुखी ?
सिङ्गै भारतवर्षका द्वीपहरूमा
फैलिरहे पनि ‘आध्यात्मिक प्रवचन’
किन उर्लिरहेछ गङ्गामा
आक्रोशको प्रवाह ?
अमेरिकी/ युरोपियन टावरहरूबाट
घन्किरहे पनि ‘विश्वशान्तिको नारा’
किन उम्लिरहेछ भोल्गामा
आक्रोशको बाढी ?
ए ! ‘प्रणय रसले निथ्रुक्क भिजेका कवि’ ज्यू !
ए ! ‘मानवतावादका रकमी’ प्रवचकज्यू !
ए ! ‘धार्मिक/आध्यात्मिक प्रेमको पारायणकर्ता’ ज्यू !
ए ! ‘विश्वशान्तिको तलबी गायक’ज्यू !
के तपाईंले आक्रोशको गति
थाहा पाइरहनुभएको छ ?
– हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्