–निमेष निखिल–
कवि पुरुषोत्तम आचार्यको साझा प्रकाशनबाट प्रकाशित खण्डकाव्य हो जुनेली । पटक पटक दोहोरिएको क्लिसेयुक्त कथानक बोकेको जुनेली खण्डकाव्यले कथित दलित वर्गकी नायिका जुनेली र जनजाति पृष्ठभूमिको धनेलाई मुख्यपात्रका रूपमा उभ्याएको छ ।
उही मुखियाको शोषण, बलात्कार जस्ता विषयको पुनरुक्ति यस काव्यमा पाइन्छ । जुठे दमाई, धने, जुनेली, मुखिया जस्ता पात्रहरू खण्डकाव्यमा आएका छन् र तिनको चरित्र विकास सहज र स्वाभाविक रूपमन गरिएको छ ।
पहाडी जस्तो लाग्ने ग्रामीण परिवेश, गाउँ, गाउँमाथिको मितेरी डाँडो र त्यहाँ रहेको चौतारो, धने र जुनेलीले गाईवस्तु चराएको जङ्गल आदि परिवेशले कविकै जन्मभूमि मकवानपुर हर्नामाडी आसपासको परिवेशको झल्को दिएको छ ।
सामाजिक शोषणबाट मुक्तिका लागि क्रान्ति र वर्गसङ्घर्ष आवश्यक छ भन्ने मार्क्सीय वैचारिकीको प्रस्तुति काव्यको केन्द्रीय कथ्य हो । काव्यको भाषा र कवित्व बेजोड छ, जस्तो पुरूषोत्तमबाट अपेक्षा गरिन्छ ।
यस काव्यको आैचित्यमाथि प्रश्न उठाउन सकिने ठाउँ छ । पटाक्षेप भइसकेको एउटा विषयलाई दुई दशकपछि यसरी काव्यका रूपमा उठान गर्नु आज यो समयमा आवश्यक थियो कि थिएन यो छुट्टै चर्चाको विषय हुन सक्छ । मेरो व्यक्तिगत विचारमा र कविसँगको लगभग दुई दशकको सङ्गतका आधारमा यो उनको कुनै अमुक राजनीतिक पार्टीप्रतिको आशक्तिभन्दा पनि मार्क्सवादी दर्शन र चिन्तनप्रतिको निष्ठा र झुकाव हो ।
कविले बाल्यकालदेखि किशोरवय हुँदै जवान हुँदासम्म अनुभूत गरेको र केही आफ्नै परिवेशमा देखेभोगेको विषयलाई काव्यको विषय बनाएको विचार भूमिकामा उल्लेख गरेका छन् । तत्कालीन जनयुद्ध कालमा निम्नवर्ग, दलित, जनजाति, महिलालगायत समाजको सीमान्त वर्गका सपना र परिवर्तनप्रतिको उनीहरूको तीव्राकाङ्क्षालाई यस काव्यमा आशावादी रूपमा प्रस्तुत गरिएको छ ।
त्यो आशा र आस्था लगभग ढलिसकेको वर्तमान परिवेशमा कविले यो काव्य लेखेर हाम्रो समाज र समयको एउटा कुरूप पाटोलाई इतिहासमा सुरक्षित गरेका छन् । कवि पुरुलाई हार्दिक बधाई ।
–हेटौंडा, मकवानपुर ।
(कवि/समीक्षक/अनुवादक निखिलको टिप्पणी सामाजिक सञ्जालबाट साभार ।)
प्रतिक्रिया दिनुहोस्