११ आश्विन २०८१, शुक्रबार

एडिलेडमा सकियो एनआरएन अष्ट्रेलियाको युथ कन्क्लेभ

कोलोराडोखबर संवाददाता , September 23rd, 2024

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघको आयोजनामा भएको युथ कन्क्लेभ युवाहरुलाई देश विकासमा प्रोत्साहन र अवसर प्रदान गर्न थप सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता सहित सम्पन्न भएको छ ।

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई, एनआरएन आईसीसी अध्यक्ष बद्री केसी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, सेतोपाटीका सम्पादक अमित ढकाल सम्मिलित समूहगत छलफलमा एनआरएनको नेपालमा लगानी, विदेशमा सिकेको शिप र ज्ञान मार्फत नेपालको विकासमा योगदान लगायतमा चर्चा भएको थियो ।

कार्यक्रममा सहभागीहरुले पनि समूहगत छलफलमा आएका अतिथिहरुलाई प्रश्न गर्ने अवसर पाएका थिए । कार्यक्रममा बोल्दै एनआरएन आईसीसीका अध्यक्ष डा बद्री केसीले एनआरएन आईसीसीमा विवाद नरहेको बताउनुभयो । आगामी गैरआवासीय नेपाली दिवस अगावै सरकारले विभिन्न १२ वटा कानूनमा एकै पटक संशोधन गरेर मन्त्रिपरिषद्मार्फत निर्णय गर्दै हाल एनआरएन नागरिकतामा देखिएको अप्ठेरोलाई हटाउने जानकारी गराउनुभयो ।

कार्यक्रमपछि प्रतिक्रिया दिँदै अध्यक्ष डा. केसीले एडिलेडमा भएको युथ कन्क्लेभबाट आफुले धेरै युवाहरुको धारणा जान्न पाएको बताउनुभएको छ । अध्यक्ष केसीले भेलाबाट निकालिएको निचोडलाई कार्यान्वयन चरणमा लैजानका लागि एनआरएन आईसीसीसी र एनसीसीले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री योगेश भट्टराईले नेपालको राजनीतिबारे अनावश्यक चासो र टिप्पणी नगर्न अनुरोध गर्नुभएको थियो । उहाँको भनाई थियो, तपाईंहरु विदेशमा हुनुहुन्छ । राम्रो गर्नुहोस् नेपालमा राजनीतिक दलहरुबीच झगडा गराउन नआउनुहोस् ।

गैरआवासीय नेपालीलाई दिने अधिकारका विषयमा सरकार सकारात्मक रहेको उहाँको भनाई थियो । नेपालको आर्थिक सम्बृद्धिमा विदेशमा बस्ने नेपालीहरुले महत्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो । साथै, नेता भट्टराईले विदेश पढ्न जाने विद्यार्थीहरुका लागि त्यसतर्फ जानुअघि प्रिडिपार्चर कोर्ष गराउने विषयमा आफुले संसदमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

एनआरएन अष्ट्रेलियाका युथ कोअर्डिनेटर सुमन बोहराले कार्यक्रममा युवाहरुका समस्या, उनीहरुको देश विकासको चाहना र नेपालबाट आएका अतिथिहरुको प्रतिबद्धताबीच युथ कन्क्लेभ सफल भएको बताउनुभयो । यस किसिमको कार्यक्रम आगामी दिनमा हरेक वर्ष गर्नुपर्ने आवाज सहभागीहरुबाट आएको र यसलाई सकारात्मक रुपमा लिएको बोहराको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्