९ मंसिर २०८१, आईतवार

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 22nd, 2024

नेपाल (हेटौंडा) । कवि यश लामाको पहिलो कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको छ । शनिबार हेटौँडामा आयोजित विमोचन कार्यक्रममा पुस्तक चर्चासहित कृति सार्वजनिक गरिएको हो ।

साहित्यकार निमेष निखिल, डा. रामजी राम, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीमार्फत् कवितासङ्ग्रह सार्वजनिक भएको हो ।

उच्च शिक्षा अध्ययनदेखि नै लामो समय मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आउनु भएका लामा, बाराको निजगढ नगरपालिका– ७ का स्थायीबासी हुनुहुन्छ । उहाँले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा ६ खण्डमा समावेश गरिएको छ।

कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत् प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताउनु भएको छ । लामाका कवितालाई कवि स्वयंले पसिनाको अनुहार खण्डको ‘देश यसरी चलेको’ वाचन गर्नुभयो । यस्तै शुक्र प्रजाले कार्यक्रममा स्वागतस्वरूप कविता वाचन गर्नुभयो भने शान्ति प्रियवन्दना र सुबास सजलले सङ्ग्रहभित्रका १–१ कविताहरू वाचन गर्नु भएको थियो ।

साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कवितासङ्ग्रहको मूल्य ३५० रहेको छ भने एम्बिसन गुरू मोबाइल एप्लिकेसनमार्फत् इ–बुक तथा श्रव्य कविता समेत सुन्न सकिनेछ ।

डा. रामजी राम र मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीले पुस्तकमाथि टिप्पणी राख्नु भएको कार्यक्रम रोयल प्यालेस हेटौँडामा किताबघरका सञ्चालक तथा सञ्चारकर्मी छवि अनित्यले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्