८ बैशाख २०८२, सोमबार

पलेशा र एरिका प्रदेश सरकारद्वारा नगदसहित सम्मानित

कोलोराडोखबर संवाददाता , September 20th, 2024

नेपाल (हेटौंडा) । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

हेटौंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो।

पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र करातेको प्रदेश संघलाई समान १ लाख रुपैयाँ प्रदान गरिने मुख्य मन्त्री लामाले घोषणा गरे ।

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन् ।

सोही अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गरेका थिए ।

कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो । पलेशाले पेरिसबाट फर्केकै दिनको झल्को आएको बताइन् । नयाँ पुस्तालाई तमाम समस्याका बीचमा‌ पनि सफलता दिलाउन सम्भावना छ भन्ने उदाहरण आफूले प्रस्तुत गरेको र भविष्यमा सफलताका लागि सबैको सहयोग उपेक्षा राखेको बताइन् ।

मुख्य मन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिदै भविष्यमा थप सफलताको शुभकामना दिए । खेलकुदले आफ्नोपनको भावना सृजना गर्नुका साथै देशलाई चिनाउन सक्ने भएका कारण बागमती प्रदेशले भविष्यमा खेलकुदलाई विकास गर्दै लाने योजना रहेको बताए ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको‌ जानकारी दिए ।

यसै महिना भएको पेरिस पारालिम्पिक्समा पलेशाले पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् । ओलम्पिकर पारालिम्पिक्समा पदक जित्ने पलेशा पहिलो खेलाडी हुन् ।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियामा रजत पदक जितेकी थिइन्। एसियाडमा करातेलाई पदक दिलाउने एरिका पहिलो नेपाली खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्