८ मंसिर २०८१, शनिबार

नेपाली कलाकारहरु न्यूयोर्कमा, आइतबार ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , September 15th, 2024

न्यूयोर्क । सेप्टेम्बर १५ आइतबारका दिन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ७ औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ मा सहभागी नेपाली कलाकारहरु न्यूयोर्क आइपुग्नु भएको छ । उक्त कार्यक्रम यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा भव्यताका साथ हुन लागेको हो ।

७औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’मा सहभागी नेपाली कलाकारहरु गत विहीबार र शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमका लागि बरिष्ठ नायिका करिस्मा मानन्धर, बरिष्ठ नायक कृष्ण मल्ल, नायिक शर्मिला मल्ल, नायक रवीन्द्र खड्का र कलाकारहरु केदार घिमिरे, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्रीसहितका व्यक्तित्वहरु न्यूयोर्क आईपुग्नु भएको हो ।

फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनु भयो ।

संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उहाँले बताउनु भयो ।

अमेरिकासहित विश्वका विभिन्न स्थानमा रहेका थुप्रै कलाकारको समेत कार्यक्रममा सहभागिता रहने आयोजक त्रिवेणी इन्टरटेनमेन्टका अध्यक्ष नवराज केसीले बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कलाकर्मीहरु, नयाँ पुस्ताका कलाकर्मीहरु, विदेशमा रहेका नेपाली कलाकर्मी तथा नेपाली चत्रचित्रलाई माया गर्ने वरिष्ठ व्यक्तित्वहरुको आगमनले न्यूयोर्क क्षेत्रमा यतिबेला नेपाली चलचित्रको माहौल तातेको ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले बताउनु भयो ।

नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।

नेपाल फिल्म सोसाइटीका अध्यक्षमा वरिष्ठ नायक कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठ रहेका छन् । साथै त्रिवेणी इन्टरटेनमेन्ट यूएसए र दिलकुमारी फाउन्डेशनका नवराज केसी र खाम भट्टको व्यवस्थापन रहने छ ।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचानः गाउँदेखि विश्वबजारसम्म’को नारा लिएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।

यो पटक एटिए एभरेष्ट ग्रुपको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनी तथा Rashmi Couture डिजाइनको सह-प्रयोजन रहेको छ ।

     

प्रतिक्रिया दिनुहोस्