६ मंसिर २०८१, बिहीबार

बोस्टनमा चार सयबढी व्रतालुहरु सामूहिक तीज विशेष पूजामा सहभागी

कोलोराडोखबर संवाददाता , September 10th, 2024

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टनमा आयोजित सामूहिक तीज विशेष पूजा सम्पन्न भएको छ । बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले गत भदौ २१ गते तदनुसार सेप्टेम्बर ६ तारिख सुक्रबार भाद्र शुक्ल तृतिया अर्थात तीज व्रतका दिन सामूहिक तीज विशेष पूजा आयोजना गरेको थियो ।

प्रवासी नेपालीहरुको अकथ प्रयासले जोडिएको सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजित उक्त तीज पूजामा चार सयबढी व्रतालुहरुले सहभागिता जनाएका थिए।

सहभागीहरुको चाप र सहजताका लागि सामूहिक तीज पूजा तीन चरणमा आयोजना गरिएको थियो । पहिलो सामूहिक पूजा विहान ९ देखि ११ बजेसम्म, दोश्रो २ देखि ४ बजेसम्म र तेश्रो ४ देखि ७ बजेसम्म रहेको थियो ।

पशुपतिनाथ बुद्ध मन्दिरका पूजारी पण्डित गोकुल कँडेल, पण्डित रमेश पराजुली र पण्डित गोपाल आचार्यले संयुक्त रुपमा उक्त पूजा धार्मिक विधिपूर्वक गराएका थिए ।

प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले सामूहिक तीज पूजा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । अपेक्षा गरिएको भन्दाबढी व्रतालुहरुको उत्साहजनक सहभागिता रहेको बताउदै अध्यक्ष नेपालले कार्यक्रम निकै प्रभावकारी रहेको दावी गरे । उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

तीज विशेष पूजा कार्यको नेतृत्व गरेका मन्दिरका पूजारी पण्डित गोकुल कँडेलले सामूहिक तीज विशेष पूजा धार्मिक विधि पूरा गरेर सम्पन्न गरिएको प्रतिक्रिया दिए । उनले पूजामा भएको व्रतालुहरुको उत्साहजनक सहभागिता कदरयोग्य रहेको बताए ।

सामूहिक पूजा सम्पन्न भएपछि साँझ व्रतालु एवम् श्रदालु भक्तजनहरुले मन्दिरमा सामूहिक आरति गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए । व्रतालु भक्तजनहरुले पूजा गर्ने क्रममा र मन्दिरमा रहेका भगवानहरुको दर्शन गरेर हिन्दू धार्मिक ग्रन्थ अनुसार आफ्नो, जीवन साथीको, सन्तानको, परिवारलगायतको सुख, शान्ति, स्वास्थ्य, दिर्घायू, उत्तरोत्तर प्रगति, उन्नति, समृद्धिको कामना गर्दै आफ्नो आराध्य देवी देवताहरुको दर्शन, पूजापाठ, प्रार्थना तथा आराधना गरेका थिए । पूजा कार्यक्रममा सहभागी व्रतालु भक्तजनहरु, पण्डितहरु, आयोजक तथा स्वयंसेवकहरुलगायत मन्दिर दर्शनार्थीहरुले उक्त अवसरमा आपसमा शुभकामनासमेत साटासाट गरेका थिए ।

मन्दिरमा उपस्थित सहभागीहरुले मन्दिरमा सृजित तीजको माहोलमा तीज विशेष गीतहरु गाएर र नाचेर दुस्ख सुख साटासाट गर्दै मनोरञ्जनसमेत गरेका थिए । आयोजकले मन्दिरमा उपस्थित व्रतालु एवम् श्रद्धालु भक्तजन तथा मन्दिर दर्शनार्थीहरुका लागि प्रसादकोसमेत व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्