नेपाल । नेपाली हास्यव्यङ्ग्यको संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा ५ हास्यव्यङ्ग्यकर्मीहरूलाई सम्मान गरिएको छ ।
हरेक वर्ष भाद्र महिनामा समर्पण गरिने विभिन्न सम्मान एवं पुरस्कारहरू वर्ष २०८१ का लागि समर्पण गरिएको हो ।
फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८१’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखन तथा यसको उन्नयनमा क्रियाशील व्यक्तित्व हेटौंडा, मकवानपुरका आरसी रिजाललाई नगद रु २०,१०५/- सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सर्लाहीका हास्यव्यङ्ग्य लेखक महेश थापालाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार– २०८१’ तथा गोरखाका हास्यव्यङ्य कवि सुभाषचन्द्र देवकोटालाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार-२०८१’ प्रदान गरिएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकका हास्यव्यङ्ग्य निबन्धकार देवीप्रसाद चापागाईँलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८१’, र इलामका कवि दीनानाथ पोख्रेललाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८१’ प्रदान गरिएको छ । यी पुरस्कारहरूको रकम जनही रु. १५,१०१/– र सम्मानपत्र रहेको छ ।
समारोहमा फित्कौली डटकमका सल्लाहकार एवम फित्कौली द्वैमासिकका प्रमुख संरक्षक सदस्य कृष्णमुरारि गौतम (चट्याङ मास्टर) लाई बुढ्यौली विषय–क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएकोमा प्रतिकचिन्ह सहित ‘बुढ्यौली विशेष सम्मान’ समर्पण गरिएको फित्कौली मिडियाका प्रधानसम्पादक नरनाथ लुइँटेलले जानकारी दिनु भएको छ ।
कर्यक्रमा विभिन्न हास्यव्यङ्ग्य स्रष्टाका ८ वटा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहरू चिरञ्जीवी दाहालको ‘बाघेझापु’, राजेन्द्र कार्कीको खाइराइड–दोस्रो संस्करण, अशोकुमार शिवाको ‘ऐनाको मान्छे’, खगेन्द्र नेउपानेको ‘पाक्कपुक्क’, साधुराम खड्काको ‘अब बाँकी के नै रहयो र ,’ का साथै राजेश मानन्धरको कार्टुनसङ्ग्रह ‘फित्कौली कार्टुन– २०८१’ विमोचित भयो । बुढ्यौली विषयमा लिखित पीपी कोइरालाको ‘वृद्धाकाश’ र फित्कौली द्वैमासिक पनि विमोचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्