नेपाल । आइतबार नेपाली कांग्रेसले पारालिम्पिक कीर्तिमानी पदकधारी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
कांग्रेसले पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोबाट कीर्तिमानी कास्यपदक जित्न सफल पलेशा, प्रशिक्षक कविराज नेगी लामा र सहभागी भरत महतालाई सम्मान गरेका हो ।
पलेशाले ५ लाख र कविराजले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पेरिस पारालिम्पकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार नगदसहित प्रशंसा पत्रबाट सम्मानित भए । व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान उनीहरुलाई सम्मान गरेका थिए ।
यता पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छिन् । सरकारले उनलाई कर नकाटिकनै सबै ६५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् ।
नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल गृष्मकालीन–शीतकालीन–पारा–विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ ।
साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ ।
नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्