११ मंसिर २०८१, मंगलवार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, १७ जनाले आवेदन दिएका थिए आवेदन

कोलोराडोखबर संवाददाता , September 7th, 2024

नेपाल । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।

२०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, सरकारले उहाँलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नु भएको छ । बिसं २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।

त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट पहाडीले इन्जिनियरिङमा स्नातक गर्नुभएको छ भने थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ ।

पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आवहान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए ।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिनुभएको थियो । यस्तै टेलिकम बाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशीले पनि आवदन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्