–आर.आर. चौलागाईं–
नरेन्द्र आधुनिक विचारको मान्छे । पश्चिमी सभ्यताबाट प्रभावित । रीतिरिवाज, परम्परा केही नमान्ने, जे मनमा आउँछ त्यही गर्नुपर्ने ।
उसकी स्वास्नी उर्मिला पनि त्यस्तै । कुनै बन्धन नचाहने, ऊभन्दा पनि एक कदम अगाडि ।
राम्रो जागिर । भव्य बङ्गला । बैँक ब्यालेन्स । मोटरकार । नोकरचाकर । ऐसआरामले भरिपूर्ण । न अभाव । न अनिकाल ।
एकले अर्काको स्वतन्त्रता हनन नगर्ने । कोही कसैको तगारो नबन्ने । दुवै जनाको सहमति ।
नरेन्द्रको आज बाहिर जाने तयारी । श्रीमतीलाई जानकारी दिन्छ–‘साथीले बोलाएको छ । उतै बस्छु होला ।’
उर्मिला पनि निकै सजिसजाउ भएर माइत जान तम्सिन्छे ।
शहरको एकान्त गल्ली । रेड एरियाको नामले प्रख्यात । ग्राहकलाई पर्खेर बसेका होटल र लजहरू ।
एउटा अधबैँसे युवक सरासर एउटा लजभित्र प्रवेश गर्छ र कोठा बुक गर्छ ।
युवक लजवालालाई सोध्छ–‘तपाईँकोमा…को व्यवस्था छ कि छैन ?’
लजवाला जवाफ दिन्छ–‘चिन्ता नगर्नोस् हजूर, सब व्यवस्था छ ।’
युवक आफ्नो कोठामा जान्छ र आशक्तभावले कसैलाई पर्खिरहन्छ ।
एकछिनपछि सेन्डिलको टक…टक…टक… आवाज आउँछ । एउटी युवती बिस्तारै कोठामा प्रवेश गर्छे । युवक युवतीतिर फर्किन्छ ।
दुवै एक–अर्कालाई देखेर चिच्याउँछन्–
‘उर्मिला तिमी…?’
‘नरेन्द्र तिमी…?’
–हेटौँडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्