–तुलसी घिमिरे–
एउटा कालो पर्दा खस्छ
आँखा अघिल्तिर
अनि म घोर निन्द्रामा पर्छु
समयले मलाई जोडसंग अठ्याउछ
म हल न चल हुन्छु
उसले मलाई
बाँधेर टुन्क्याउछ
काउकुती लगाउछ
मलाई हँसाउछ
मेरो भने निन्द्रा पुगेको छैन
निन्द्रादेबीलाई अँगालो मारेर
गहिरोसंग घुर्न मन छ
निर्दयी समय लुसुक्क आउँछ
चिमोटेर अङ्ग दुखाउछ
सुनेको छ मेरा दुबै कानहरुले
डालिमा चराको आवाज
चिसो हावाले निमोठ्छ मेरा दुबै कान
बोट्को फेदीमा असरल्ल झरेका
पारिजातका फुलहरु
हावाले उडाएर ल्याउछ बास्ना
ठ्वास्स ठोकिन्छ नाकमा
छिर्छ नाकको फोन्द्रोबाट
रोमाञ्च भरिएको परिवेश
खोलालाइ पनि मन छ होला
एकछिन टक्क उभिनु
पेटभरि स्वास फेर्नु
कति मनलाग्दो हो
पहाडभरी फुलेको
लालीगुँरास ट्याप्प टिप्नु
र घुँसार्नु कोशभरीको लामो चुल्ठोमा
गोधुलिमा सुर्य रातो हुन्छ
पहाडको टाकुराले सिउँदो भर्छ
आजको दिन बिदाबारी हुदै
सुर्य ओरालो लाग्छ
एउटा कालो पर्दा खस्छ
आँखा अघिल्तिर
अनि म घोर निन्द्रामा पर्छु ।
जतिखेर बिहान मेरो गाउँमा आउछ
सिउर हल्लाउँदै भाले बाँस्छ
उतिनै बेला बनधरिमा
स्याल कराउँछ
बाटोभरी लत्रिएका भुँइकुहिरो
चिसोले कठ्याँङगृएका बोटबिरुवा
लुगलुग काँप्छन
चिसोले चपाएको
घाइते घाउ लिएर
तिमिलाइ भेट्न आउन मन छ मलाई
ए ! मेरो साथी
ए ! मेरो दमाली
ए ! मेरि प्रियसी
तन टाढा भएपनि
मन उतै हावा भएर उड्छ
बादल भएर दगुर्छ
सोच्दा सोच्दै रात झमक्क पर्छ
एउटा कालो पर्दा खस्छ
आँखा अघिल्तिर
अनि म घोर निन्द्रामा पर्छु ।
झ्यालको पल्ला यस्सो तानेर हेर्छु
बाहिर बसन्त आइसकेछ
आकाश खुलेर निलै भएछ
चराहरु डालीबाट फुत्त फुत्त
पखेटा फट्फटाउदै टाढासम्म पुग्छन्
मेरा पनि परेला उचालिन्छ्न
आँखाले खिचिक्क फोटो खिच्छ
दृश्य कैद हुन्छ
यसरी आकाश सधैं खुल्दैन
जब खुलेको ठम्याउन सकिन मैले
मलाई एक्लै छोडेर गएको छ
र म पिढीँमा बसेर
भुतभुताएको छु
पछुतायको छु
एउटा बिछिप्त पागल जस्तै
समयलाई दिनमा भोग्नु पर्दोरहेछ
रातले आँखा चिम्म बनाउछ
टाउको अडेस लागेर निदाउछ
बोट बिरुवा सुत्छन्
सुनिन्छ तकियामा
पानीको कलकल
वनडढेलोको गन्ध
नाकबाट निस्कने तातो हावा
सपनामा झुल्किन्छ
जुनकीरीको धिपधिपे उज्यालो
सधैजसो गोधुलिमा
सुर्य पहाडबाट हामफाल्छ
अनि कसैले अदृश्य डोरी तान्छ
एउटा कालो पर्दा खस्छ
आँखा अघिल्तिर
अनि म घोर निन्द्रामा पर्छु ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्