२ माघ २०८१, बुधबार

पारा तेक्वान्दो खेलाडी पलेशालाई काठमाडौं महानगरद्वारा नगद ५ लाखसहित सम्मान

कोलोराडोखबर संवाददाता , September 5th, 2024

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । बुधबार काठमाडौँ प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भन्नुभयो, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उहाँले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गर्नुभयो । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उहाँले, पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गर्नुभयो । डंगोलले जितमा प्रशिक्षकको भूमिका उल्लेखनीय हुने बताउँदै खेलाडीसँगै प्रशिक्षकहरुलाई प्रोत्साहित गर्नु पर्ने बताउनुभयो ।

त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भन्नुभयो, मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।

सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुभएको थियो ।

पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्नुभएको हो । पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गर्नुभएको थियो ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गर्नुभएको थियो । पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्