६ मंसिर २०८१, बिहीबार

मौन पीडाः अमेरिकी नेपाली समुदायमा घरेलु हिंसा र मानसिक स्वास्थ्य

कोलोराडोखबर संवाददाता , August 28th, 2024

–आरसी पन्त–

भर्जिनियाको मनसास पार्कबाट हराएकी २८ वर्षीय नेपाली महिला ममता काफ्ले भट्टको घटनाले अमेरिकी नेपाली समुदायमा रहेको एक गम्भीर समस्यालाई उजागर गरेको छ– त्यो हो घरेलु हिंसा र मानसिक स्वास्थ्य ।

ममता पाँच दिनदेखि हराइरहेकी थिइन्, तर उनका श्रीमान नरेश भट्टले ५ दिन पछि हराएको रिपोर्ट गरे । यो लेख लेख्दासम्म यस घटनाले थप जटिलता लिएको छ, जब नरेश ममताको शव लुकाएको आरोपमा गिरफ्तार परी हाल प्रहरी हिरासतमा छन् । यो घटना अझै दिनप्रति दिन थप जटिल बन्रे क्रममा भए तापनि यसले हामी नेपाली आप्रवासी समुदायहरूमा महिलाहरू र पुरूषहरूले सामना गर्ने घरेलु हिंसा र मानसिक स्वास्थ्यका खतराहरू र चुनौतीहरूको वास्तविकता प्रष्ट झल्काएको छ ।

अमेरिकी नेपाली समुदायमा घरेलु हिंसाको अवस्था
म आफू १८ बर्षदेखि कोलोराडोमा बस्दै गर्दा मैले यहॉंको नेपाली समुदायका सदस्यहरूले घरेलु समस्याहरूमा जुझ्नुपर्ने कठिनाइहरू प्रत्यक्ष देखेको छु । अझै दुई बर्ष एनआरएनए कोलोराडो च्याप्टर अध्यक्ष हुदॉं धेरै कुराहरू नजिकबाट देख्ने मौका मिलेको थियो ।

२०२१–२०२३ मा एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्ष हुँदा पारिवारिक संकटहरू सामना गरिरहेका व्यक्तिहरूबाट धेरै फोन कलहरू प्राप्त गरेको थिएँ । संकटहरू भन्नाले जागिर, वित्तीय सहयोग, घरेलु हिंसा र मानसिक समस्या सबै खालका थिए । एनआरएनएको विज्ञता यस बिषयमा नहुनु र धेरै कानूनी जटिलताहरूले गर्दा हामीसंग सहयोग गर्ने विकल्पहरू अत्यन्त सीमित थिए । दुई बर्षमा मैले र मेरो टिमका साथीहरूले सहयोगका लागि फोनहरू आउँदा आफैले धेरैपटक कोलोराडो डिपार्टमेन्ट अफ ह्युमन सर्भिसेज, नेशनल हॉटलाइन र यस्ता केसहरूमा काम गरिरहेका गैर–नाफामूलक संस्थाहरूमा सम्पर्क गरिरह्यौं र सहयोग मागि रह्यौं । हामीले धैरैलाई अप्रत्यक्ष सहयोगहरू पनि दिई रह्यौं ।

त्यतिबेला र अहिले देखिएको धेरै समस्याहरू मध्य केही वित्तीय बोझ (financial burden), नयाँ परिवारको (new family, newly couple and newborn in the family) दबाब वा काम सम्बन्धी तनावले घरेलु हिंसाहरू बढेको देखे । यसमा पनि मानसिक समस्याको अर्को पाटो आफैमा अझै जटिल त छँदैछ । कति धेरैलाई यो पनि थाहै थिएन की यिनै समस्याहरूको समाधानका लागि भनेर धेरै संस्थाहरूमार्फत सरकारले सहयोग उपलब्ध गराएको छ । तर प्रायः यो प्रणालीमा सहयोग लिनको लागि पीडितलाई आफैंले फोन वा ईमेल मार्फत सिधै सम्पर्क गर्नुपर्ने आवश्यकतालाई प्राथमिकता दिने रहेछ, तेस्रो पक्षले कहॉं सहयोग पाईन्छ भन्ने मात्र देखाईदिने रहेछ ।

घरेलु हिंसा एउटा यस्तो समस्या हो, जसले सबै जातजाति, भाषाभाषी वा संस्कृतिका व्यक्तिलाई प्रभावित गर्ने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि तीन मध्ये एक महिला शारीरिक वा यौन हिंसामा पर्छन्, जुन प्रायः नजिकको व्यक्तिबाट नै हुने गर्दछ ।

अमेरिकामा राष्ट्रिय घरेलु हिंसा बिरुद्धको संस्था ( National Coalition Against Domestic Violence (NCADV)) का अनुसार, प्रत्येक मिनेटमा करिब २० व्यक्तिलाई नजिकको ब्यक्तिद्वारा शारीरिक हिंसा हुने गर्दछ, जसले वार्षिकरूपमा १ करोड भन्दा बढी महिला र पुरुषहरूलाई प्रभावित गर्ने गर्छ । त्यसमा पनि अमेरिकी नेपाली समुदायमा घरेलु हिंसा सांस्कृतिक मान्यताहरू, भाषा अवरोध र कानूनी प्रणालीको अज्ञानता जस्ता कारक तत्वहरूले झनै थप जटिल बनाइ दिएको छ ।

धेरै नेपाली आप्रवासी समुदाय पितृसत्तात्मक समाजबाट आएका हुन्छन्, जहाँ घरेलु हिंसालाई सामान्यीकृत वा व्यक्तिगत पारिवारिक मामिला मानिन्छ भन्ने गरिन्छ, जसले पीडितहरूलाई सहयोग खोज्न झनै कठिन बनाएको छ। त्यसमाथि यस्ता समस्या वा चुनौतीहरू बाहिर ल्याएर उजागर गरे झनै सामाजिक कलंक र दमनको हुने डरले पनि बाहिर आउनबाट रोकिएका छन् । जसले गर्दा पीडितहरूलाई मौन राख्न बाध्य बनाउँछ भने दमन वा हिंसा गर्नेलाई प्रोत्साहन मिल्ने गरेको छ ।

घरेलु हिंसा र मानसिक स्वास्थ्यः
यो समस्या बुझ्नको लागि अमेरिकी नेपाली समुदाय र फराकिलो आप्रवासी जनसंख्यामा घरेलु हिंसा र मानसिक स्वास्थ्यको तथ्याङ्क हेर्नु महत्त्वपूर्ण छ । एशियन प्यासिफिक इन्स्टिच्युट अफ जेन्डर बेस्ड भायोलेन्सद्वारा गरिएको एक अध्ययनले देखाउँछ कि अमेरिकामा २१.५५ प्रतिशत एशियाली महिलाहरूले आफ्नो जीवनकालमा नजिकको व्यक्तिबाट हिंसा भोग्ने गरेका छन् । नेपाली समुदायमा यस्तै प्रवृत्ति अझै कहालीलाग्दो हुन सक्दछ । घरेलु हिंसाको अर्को पाटो भनेको मानसिक स्वास्थ्य हो । घरेलु हिंसाका पीडितहरूलाई प्रायः डिप्रेसन, चिन्ता र Post-Traumatic Stress Disorder (PTSD) जस्ता मानसिक स्वास्थ्य समस्या हुनको जोखिम बढी हुन्छ ।

The National Institutes of Health (NIH) का अनुसार घरेलु हिंसा अनुभव गर्ने महिलाहरूमा प्रमुख डिप्रेसन विकारको सम्भावना तीन गुणा बढी हुन्छ र PTSD को सम्भावना चार गुणा बढी हुन्छ । अहिले नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्याहरू आप्रवासनको तनावले झनै गम्भीर देखिन्छ । धेरै नेपाली आप्रवासीहरूले नयाँ संस्कृतिमा समायोजन हुनु, रोजगारीको र उनीहरूको आप्रवासन स्थितिको कानूनी जटिलताहरूमा सामना गर्नुपर्ने चुनौतिहरू सामना गर्दछन् । यी तनावहरूले मानसिक स्वास्थ्य विकारहरूको जोखिम बढाएको सक्छ, जसले अमेरिकामा पछिल्ला केही वर्षमा अधिक मात्रामा परिवारमा घरेलु हिंसा, आत्माहत्या र मानसिक स्वास्थ्य बढिरहेको प्रष्ट देख्न सकिन्छ ।

बढ्दो नेपाली आप्रवासी जनसंख्या र सम्बद्ध जोखिमहरूः
अमेरिकामा नेपाली आप्रवासी जनसंख्या गत दशकहरूमा तीव्र रूपमा बढेको छ । अमेरिकी जनगणना ब्यूरोका अनुसार २००० देखि २०१९ सम्ममा मात्र अमेरिकामा नेपाली आप्रवासीहरूको संख्या २०० प्रतिशत भन्दा बढीले वृद्धि भएको देखिएको छ, जसले नेपालीलाई सबैभन्दा छिटो बढ्ने आप्रवासी समूहहरूमध्ये एक बनाएको छ । यो तीव्र जनसंख्या वृद्धिले घरेलु हिंसा र मानसिक स्वास्थ्यसँग सम्बन्धित जोखिमहरू अझै बढाएको छ । नेपाली समुदाय बढ्दै गएसँगै घरेलु हिंसाका घटनाहरूको सम्भावना पनि बढेको छ ।

आप्रवासनसँग सम्बन्धित तनावः
आर्थिक अस्थिरता, भाषा अवरोध र समस्या, सामाजिक सञ्जालहरूबाट देखासिकी—घरेलु हिंसाको सिर्जना गर्ने कारक तत्वहरू हुन । साथै भाषाको समस्याले सजिलै स्रोतहरू र सेवाहरूको खोज्न नसक्नुले पनि घरेलु हिंसाका पीडितहरूलाई सहयोग खोज्न गाह्रो बनाएको छ । धेरै नेपाली आप्रवासीहरूलाई National Domestic Violence Hotline जस्ता स्रोतहरूको जानकारी नै छैन, जसले २०० भन्दा बढी भाषाहरूमा दोभाषेहरूले पिडितलाई सहयोग प्रदान गर्दछन् ।

घरेलु हिंसाका दुखद परिणामहरूः
पछिल्लो पटक ममता काफ्ले भट्टको घटनाले घरेलु हिंसा कसरी दुःखद परिणामहरू निम्त्याउन सक्छ भनेर देखाउँछ । ममता अन्तिम पटक ३१ जुलाई २०२४ मा देखिएकी थिइन् र उनका श्रीमान नरेश भट्टले ५ अगस्टमा हराएको रिपोर्ट गरे । अनुसन्धान अगाडि बढ्दै जाँदा नरेशले प्रहरीहरूलाई सहयोग नगरेको, जसका कारण उनलाई शव लुकाएको आरोपमा गिरफ्तार गरियो । यस घटनाले अमेरिकी मात्र नभएर अन्तर्राष्ट्रिय सबै समुदाय, विषेसतः नेपाली समुदायलाई झस्काएको छ, जसले घरेलु हिंसाका पीडितहरूका लागि जागरूकता र समय मै दिन पर्ने सहयोग र समर्थनको आवश्यकतालाई फेरी महत्वपूर्ण तरिकाले उजागर गरेको छ ।

अमेरिकामा यस्ता घटनाहरु भइरहेका छन् । कृष्ण लामिछाने ( टेक्सट March 2023) र अर्जुन मैनालीका ( नर्थ क्यरोलिना Feb 2024) घटनाहरू, जसमा घरेलु हिंसा र मानसिक स्वास्थ्य समस्याहरूले दुःखद परिणामहरू ल्याए । लामिछाने टेक्सासको नेपाली समाजका पूर्व अध्यक्ष, आफ्नै घरमा मृत भेटिए, जहाँ घरेलु समस्या र मानसिक स्वास्थ्य संघर्षले भूमिका खेलेको हुनसक्ने समाजिक संजाल मार्फत, परिवार र साथिभाईले बताएका थिए । त्यस्तै, मैनाली जसले आफ्नो जीवनकालमा २०० भन्दा बढी पटक रगत दान गरेका थिए, उनले पनि घरेलु हिंसा र मानसिक स्वास्थ्य चुनौतीहरूको कारण आफ्नै जीवन समाप्त गरेका थिए ।

समस्याको समाधानः कार्यको लागि आह्वान
अमेरिकामा रहेको नेपाली समुदायले घरेलु हिंसा र मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न सक्रिय कदम चाल्नुपर्ने देखिएको छ । यसमा उपलब्ध स्रोतहरूको बारेमा शिक्षा र जागरूकता बढाउने र व्यक्तिहरूलाई आवश्यक पर्दा सहयोग खोज्न प्रोत्साहित गर्ने कुरा समावेश हुनुपर्ने छ ।

सामुदायिक संस्था, सामाजिक नेताहरू, संस्था वा संगठनहरू र व्यक्तिहरूले मिलेर यस्तो वातावरण सिर्जना गर्नु हाम्रो पनि दायित्व हो, जहाँ पीडितहरूले सहयोग खोज्न सुरक्षित महसुस गरून्, समुदायलाई घरेलु हिंसाका लक्षणहरूको बारेमा शिक्षित गरेर र मानसिक स्वास्थ्यको महत्त्व बुझाएर ममता काफ्ले भट्टको घटनाजस्तै भविष्यमा हुने त्रासदीहरू सजिलै रोक्न सकिन्छ । साथै, उपयुक्त स्रोतहरू र सेवाहरू कहॉं छन् भनेर मन्दिरहरूमा, धेरै भेला हुने ठाउँमा, नेपाली कम्युनिटी सेन्टरहरूमा वा कुनै कार्यक्रम हुँदै गर्दा पहिलो पॉंच मिनेट राष्ट्रिय गान भन्दा यसबारे शिक्षा दिएर नेपाली आप्रवासीहरूलाई सचेतना उपलब्ध गराउनु पर्छ ताकि उनीहरूले चाहेको बेला आवश्यक सहयोग कहॉं प्राप्त गर्न सकिने रहिछ भनी जानुन् ।

अन्त्यमा, ममता काफ्ले भट्टको घटनाले अमेरिकी नेपाली समुदायमा घरेलु हिंसा सम्बोधन गर्ने तत्कालको आवश्यकतालाई झनै उजागर गरिदिएको छ । समुदाय बढ्दै जाँदा, घरेलु हिंसाका घटनाहरूको सम्भावना पनि बढ्दै गएको छ ।

अबको समयमा यसमा ध्यान नदिए वा समुदायलाई शिक्षित नगरे आउने दिनहरूमा थप त्रासदीपूर्ण घटनाहरू बढ्ने छन् र रोक्न असम्भव हुनेछ । घरेलु हिंसाका र मानसिक स्वास्थ्य पीडितहरूले आवश्यक सेवा सुरक्षा प्राप्त गर्न सक्नुपर्छ । हामी एकसाथ मिलेर काम गर्दा नेपाली समुदायका सबै सदस्यहरूको लागि सुरक्षित वातावरण सिर्जना गर्न सकिन्छ । यस्ता समस्या परेकाहरूसंग कुरा गर्दा त्यतिबेला पनि पहिलो बाक्य नै हुन्थ्यो यदि तपाईंलाई खतरा महसुस हुन्छ भने कृपया ९११ मा तुरुन्त फोन गर्नुहोस् । अहिले पनि त्यहि नै भन्छु, ९११ मा फोन गर्न नडराउनुहोस् ।

निरन्तर घरेलु हिंसा वा दुर्व्यवहारको शिकार भएका व्यक्तिहरूलाई म आग्रह गर्छु कि जब तपाईंलाई अवसर मिल्छ, National Hotline (1800-799-SAFE(7233) घरेलु हिंसा हॉटलाइनमा सम्पर्क गर्नुहोस् । अंग्रेजिमा बोल्न नआएपनि त्यहॉं २०० भन्दा बढि भाषामा बोल्न दोभाषे राखेको छ ।

https://www.thehotline.org/

फोनमा कुरा गर्ने वा बोल्न नमिले “START” to number 88788 । यो फोन नम्बर तपाईको फोनमा सेभगरेर राख्नुहोस् । तपाईलाई चाहिने सबै प्रकारका सहयोग त्यहाँ छ र तपाईंलाई कुनै पैसा तिर्न पर्दैन — मात्र फोन or text गर्नको लागि र आफूलाई सुरक्षित राख्न साहस चाहिन्छ, तपाईंको आफ्नो सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ । आशा गरौं अमेरिकी नेपाली समुदायमा कोही कसैले पनि मौन पीडा सहन नपरोस् । ममता काफ्ले भट्टले भोगेको पीडा, परिवारले सहेको चोट र सानी एक बर्षकी छोरीले गुमाएको आमा अर्को कसैले पनि त्यो सोच्न नपरोस्, स्वर्गीय ममता, स्वर्गीय अर्जुन, स्वर्गीय कृष्ण लगायत घरेलु हिंसामा ज्यान गुमाउने र मानसिक स्वास्थ्यका कारण यो संसार छाड्ने सबै आत्माको चीर शान्तीको कामना ।

(लेखक पन्त एनआरएनए कोलोराडो च्याप्टरका पूर्वअध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्