११ आश्विन २०८१, शुक्रबार

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

कोलोराडोखबर संवाददाता , December 9th, 2023

एजेन्सीहरु । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो ।

सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो ।

सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ ।

उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिसहरूको मृत्यु भएको थियो ।
अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद्‌मा भने,ूयो प्रस्तावले इजरेलले उक्त आक्रमण सहनुपर्ने मर्म बोकेको छ जसले आतङ्कलाई फेरि आफ्नो ठाउँ बनाउने र खडा हुने बाटो दिन्छ ।”

अमेरिकाले प्रस्तावको प्रक्रियालाई ‘हतारको’ भन्दै त्यसअघि ‘उचित सल्लाह’ नलिइएको बताएको छ ।
–बीबीसीबाट साभार

प्रतिक्रिया दिनुहोस्