९ मंसिर २०८१, आईतवार

कविताः जिन्दावाद

कोलोराडोखबर संवाददाता , August 17th, 2024

-लक्ष्मी ‘रेशमी’-

गनेर नसकिने धोकाहरु
सुनेर सुन्न नसकिने कान्ड नै कान्ड
यति सजिलै पत्याइरहने
कसैले मन्त्र गरेजस्तो

सिन्दुर छरेर मोहनी नै लाएजस्तो
चर्की चर्की बोलिरहेका स्वरहरु
पानीमा बरफ झैँ बिलिन भएको छ
सन्नाटा छाएको छ आजकल

सडकहरु सुस्ताएका छन्
पर पर सम्म सुनिन्न
कुनै जुलुस नाराको चर्को ध्वनिहरु
गाउँ बस्ती उजाडिएको

साक्षी बनेर हेर्दैछ तारेभिर
पानी जहाजको सपना बुनेर
हवाइजहाजमा उडिरहेछन्
रेलको गीत गाएर हुर्केकाहरु
गुडिरहेछन् पर कतै बिरानामा

हजुरबुबा आमाले भन्दा नपात्याउनेले
पत्याइरहेछ बाका उखानटुक्का
र्यालमा नै चिप्लिरहेछ सदनमा उफ्रिनेहरु
बारुद र बन्दुकको थकाइ
मस्त निदाइरहेछ सुनका पलङ्हरुमा
नयाँ युग आएको छ
लोकतन्त्र जिन्दावाद !

–चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्