नेपाल (हेटौंडा) । हेटौंडा उपहानगरपालिकाले नगरवासीहरुका लागि कर धेरै थोपरेको भन्दै विशेष नगरसभभा बोलाउनका लागि माग गरिएको छ । नगरवासीहरुको ढाड सेक्नेगरी करका दर बढाएको भन्दै बुधबार नेकपा एमालेका वडा अध्यक्ष र वडा सदस्यहरुले विशेष नगरसभाको माग गरेका हुन् ।
उपमहानगरपालिकाका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै उपमहानगरपालिकामा निवेदन समेत दिएको वडा नम्बर–४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक देखिएको भन्दै नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यहरुले बढाएको कर घटाउनका लागि माग गर्दै आजै पत्रकार सम्मेलन समेत गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभा सदस्य गरी ४८ जना नगरसभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन बुधबार माग गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगरसभा बोलाउने सम्बन्धीको माग पत्रमा हस्ताक्षर गरेका छन् ।
नगर प्रमुख लामा भने काठमाडौंमा छिन् । एमालेका नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामा समक्ष विशेष नगरसभा बोलाउन माग गरेका हुन् । २०७४ यता हेटौंडामा पहिलो पटक विशेष नगरसभा सदस्य बोलाउन माग भएको छ ।
कर वृद्धिको विरोधमा विगत १० दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका दुई दर्जन विषयगत व्यवसायिक संघसंस्थाहरु चरणबद्ध आन्दोलनमा छन् । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्