-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई छमछमी नचाउन नेपाली सांगीतिक क्षेत्रका चर्चित चार कलाकारहरु बोस्टन उत्रिएका छन् ।
बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै नाच्ने नचाउने र रम्मे रमाउने उद्देश्यका साथ उनीहरु बोस्टन उत्रिएका हुन् । बोस्टन उत्रिनेहरुमा गायिकाहरु शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकाल रहेका छन् ।
उनीहरु दुई महिने सांगीतिक यात्रा ‘अब नाच्छ अमेरिका’ को दौडाहाका क्रममा अगष्ट ८ तारिख बिहिबार बोस्टन आइपुगेका हुन् । उनीहरुलाई स्थानीय प्रवासीहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, कलाकारहरुलगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले कलाकारहरुलाई स्वागत गर्दै दुई महिने अमेरिकाको सांगीतिक अभियानको सफलताको कामनासमेत गरेका थिए ।
फ्लाइ नेपाको प्रस्तुति रहेको उक्त सांगीतिक कार्यक्रमको पहिलो कार्यक्रम यही अगस्ट १० तारिख शनिबार साँझ बोस्टनको 47 Nichols Ave, Watertown, 02472 मा हुदै छ।
बोस्टनमा हुने कार्यक्रमको संयोजनकारी नेतृत्व अमेरिकाकाको बोस्टन सहरका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले गरिरहेका छन् । उनका अनुसार बोस्टनमा हुने ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । लक्ष्य अनुसार टिकट पनि लगभग बिक्री भइसकेको र केही संख्या मात्रै बाँकी भएकाले ढिलो नगरी टिकट खरिद गरेर समयमै आफ्नो सिट सुरक्षित गर्न गुरुङले अनुरोधसमेत गरेका छन् । आयोजकले प्रति टिकटको मूल्य अग्रिम किनेमा ४० डलर र कार्यक्रम स्थलमा किनेमा ५० डलर तोकेको छ।
बोस्टन उत्रिएका कलाकारहरुले पनि बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै बोस्टनवासी प्रवासीहरुलाई नचाउन आफूहरु आतुर भएको बताएका छन् । उनीहरुले चारै जनाको अमेरिकाको यात्रा र सांगीतिक कार्यक्रम दुबै पहिलो पटक भएको बताउँदै कार्यक्रममा भरपूर रमाइलो हुनुका साथै महिला सशक्तिकरणको लागि एक नमूना कार्यक्रम हुने दावी गरेका छन् । उनीहरले प्रवासी नेपालीहरुलाई उक्त कार्यक्रमा सहभागिता भइदिन अनुरोधसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्