११ आश्विन २०८१, शुक्रबार

आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकप्टरबाट भारत पुगिन्

कोलोराडोखबर संवाददाता , August 6th, 2024

अमेरिका । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छिन् ।

सोमबार हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए । उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए ।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो । सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए ।

हसिना र उनकी बहिनी शेख रेहना गणभवनबाट हेलिकप्टर चढेर भारत गएका छन् ।

केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको मागसहित आन्दोलित भएका हुन् ।

उक्त आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ ।

प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले प्रदर्शनकारी विद्यार्थीहरूलाई “आतङ्कवादी” को सङ्ज्ञा दिएकी थिइन् ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गत जनवरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन् ।

विगत १६ वर्षदेखि सत्ता हाँकिरहेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन् ।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन् । उनी सर्वाधिक समय शासन गर्ने नेता हुन् ।

बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ । हाल ७६ वर्षकी हसिना देश छोडेर भारत पुगेको विवरण आएका छन् ।

सेनाप्रमुखले अन्तरिम सरकार गठन घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् ।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् । -बीबीसी/एजेन्सीहरु

प्रतिक्रिया दिनुहोस्