-मसान उपासक (नेपाल, हेटौंडा) । शनिवार मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले आफ्नो ३०६ औँ नियमित साहित्य शृङ्खलाअन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गर्दै नियात्राकार रमेशमोहन अधिकारीको “संयात्राको संयोग” नियात्रा सङ्ग्रह सार्वजनिक गरेको छ ।
झसाप मकवानपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका अधिकारीको आफ्नो पाँचौ साहित्यिक कृतिको रुपमा “संयात्राको संयोग” सार्वजनिक गरिएको हो । ५ खण्डमा विभाजन गरी २८ वटा नियात्रा राखिएको यस सङ्ग्रहलाई बुलुबल पब्लिकेशन काठमाडौँले प्रकाशन गरेको हो ।
२०३ पृष्ठ रहेको यस सङ्ग्रहको मूल्य रु. ४५०/– राखिएको छ । उहाँका यसअघि सम्झनाको सेरोफेरो (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०६३), घुम्तीहरू छेलिएपछि (संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४), गुराँस र युद्ध (कविता सङ्ग्रह, २०७५) र आफैँसँग (संस्मरण तथा नियात्रा सङ्ग्रह, २०७८) प्रकाशित भएका छन् । उहाँले नेपाली भाषा व्याकरण र अभ्यास पुस्तक समेत प्रकाशित गराउनु भएको छ । सार्वजनिक कृतिमाथि झसाप मकवापुरका निवर्तमान अध्यक्ष दीपक गौतम र साहित्यकार रजनी पौडेलले आफ्नो समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।
मकवानपुरका अग्रज साहित्यकार रामचन्द्र आचार्य “फुर्सदी”को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, अग्रज पत्रकार देव श्रेष्ठ, साहित्यकार जर्नादन खनाल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, कथाकार समिर पाख्रिन, बैकुण्ठ लामिछाने, पुरुषोत्तम आचार्य, देवराज तिवारी, बिष्णु गौतम, सुवास खनाल, भावना सापकोटा, सानुभाई विश्वकर्मा, सानु खनाललगायतको आथित्यता रहेको थियो ।
झसाप मकवापुरले साहित्यिक महोत्सव, काव्य प्रशिक्षण, विभिन्न पुस्तकहरुको प्रकाशन तथा परिचर्चादेखि नियमित रुपमा साहित्यिक अर्धबार्षिक पत्रिका “झरना” प्रकाशनको कामसमेत गर्दै आइरहेको छ ।
झसाप मकवापुरका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष चिरञ्जीवि लामिछानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष गायत्री रुपाखेतीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्