७ मंसिर २०८१, शुक्रबार

अमेरिकाको बोस्टनमा भव्यताका साथ ‘नेपाल डे’ मनाउने तयारी

कोलोराडोखबर संवाददाता , July 29th, 2024

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा ‘नेपाल डे–२०२४’ मनाइने भएको छ । कार्यक्रम स्थललाई नेपालमय बनाउदै ‘नेपाल डे’ भव्यताका साथ मनाउन आवश्यक तयारीलाई तिब्र पारिएको छ । गत वर्षदेखि मनाउन सुरु गरिएको नेपाल डेलाई यसवर्ष पनि निरन्तरता दिन ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरु उत्साहका साथ तयारीका लागि एकजुट भएका हुन्।

कार्यक्रमको आयोजनाको नेतृत्व ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली समुदायको अग्रणी संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी’ (जिबिएनसि) ले गर्दैछ । कार्यक्रमलाई सफल बनाउन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीले साझेदारी गरिरहेको छ भने, यस क्षेत्रमा रहेका अन्य नेपाली समुदायका संघ संस्थाहरुले पनि साथ दिइरहेका छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रम, आउदो अगष्ट ४ तारिख आइतबारका दिन एभरेट सिटी स्थित ग्लेन्डल पार्कमा हुँदैछ । अपरान्ह १२देखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यक्रमलाई सन्देशमूलक र सांगीतिक माहोलसहित उल्लासमय बनाउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ । कार्यक्रममार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको देश र विश्व शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपाल भएको सन्देश छर्ने कार्यक्रमको मूल लक्ष्य रहेको छ ।

कार्यक्रम आयोजक संस्था जिबिएनसिका वरिष्ठ उपाध्यक्ष सन्दिप भट्टराईले कार्यक्रम नेपालीपन, नेपाली पहिचान र नेपालीत्वलाई झल्काउनमा केन्द्रीकृत हुने बताए । उनले जनाए अनुसार नेपाल डेको मुख्य आकर्षण विविध सांगीतिक कार्यक्रम हुने र उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हरि कर्माचार्य (गुल्मी गाइज व्याण्ड), दिपेश के भट्टराई र जेम्स प्रधानले आफ्ना प्रस्तुतिहरु पस्किने भएका छन् । त्यसैगरी, कलाकारहरु महादेव त्रिपाठी, अमित सुनार, मल्लिका कार्कीलगायत स्थानीय कलाकारहरुले पनि उक्त सांगीतिक मञ्च साझा गर्दै सहभागीहरुलाई भरपूर मनोरन्जन दिलाउने तयारीमा छन् ।

नेपाली भाषा, धर्म, भेष भुषा, संस्कृति, परम्परा, चालचलन,पहिचान आदि झल्काउने गरी गरिने कार्यक्रम, प्रवासी नेपाली समुदायको लागि गौरवपूर्ण, उत्साहजनक र मनोरञ्जनात्मक हुने वरिष्ठ उपाध्यक्ष भट्टराईको दाबी छ । उनले ग्रेटर बोस्टनबासी प्रवासी नेपाली समुदायका लागि नेपाल डे-२०२४ एकता र पहिचान प्रदर्शन गर्ने एक सुवर्ण अवसर पनि भएको जिकिर गरे। नेपाल डे कार्यक्रमलाई भव्यताका साथ मनाउन सबै जुटौं, कोही नछुटौं भन्दै वरिष्ठ उपाध्यक्ष भट्टराईले सबैलाई सहभागिताका लागि अनुरोध गर्दै आयोजकका तर्फबाट चुले निम्तोसमेत दिएका छन् । कार्यक्रम आयोजकका अनुसार, कार्यक्रम स्थलमा नेपाली व्यवसायीहरुले विक्रीका लागि विभिन्न नेपाली खानाका परिकारहरु र नेपालीपन तथा पहिचान झल्काउने सरसामानहरुको लगभग २५ वटा स्टलहरुसमेत राख्ने भएका छन् ।

यस अवसरको सदुपयोग गर्दै नेपालको प्रवर्धन गर्ने मुख्य उद्देश्यले कार्यक्रम स्थलमा जानकारीमूलक स्टल पनि राखिने भएको छ । अमेरिकाको ऐतिहासिक सहर बोस्टनका लागि नेपाल सरकारका प्रतिनिधि पर्यटन प्रवर्द्धक मिलन गुरूङले यसबारे जानकारी गराएका हुन् । कार्यक्रमका बारेमा जानकारी दिदै उनले भने, ‘कार्यक्रमको नामले नै प्रस्ट हुन्छ कि, यो कार्यक्रम नेपालको पर्यटन प्रवर्धनका लागि अति नै महत्वपूर्ण छ । त्यसैले जानकारीमूलक स्टल राखिने छ । यस अवसरलाई भरपूर उपयोग गरेर नेपालको पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्नु सबै प्रवासी नेपालीहरुको कर्तव्य हो।’

प्रवासमा हुने यस्ता कार्यक्रमहरुमा नेपालको पर्यटन प्रवर्धन गर्न प्राथमिकता दिइनु पर्नेमा जोड दिदै गुरुङले त्यस्ता कार्यक्रमहरुलाई नेपाल सरकारले पनि सक्दो साथ सहयोग गर्नु पर्ने बताए । नेपाल डे कार्यक्रमलाई सफल बनाउन सबैसंग साथ सहयोगको अपिल गर्दै उनले कार्यक्रमको पूर्ण सफलताको कामनासमेत गरेका छन् ।

१५ देखि २० हजारसम्म नेपाली मूलवासीहरुको बसोवास रहेको अनुमान गरिएको यस ग्रेटर बोस्टन क्षेत्रमा क्रियाशिल जिबिएनसिको स्थापना सन् १९८९ मा भएको हो । यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै समुदायकाबिच विविध क्रियाकलापहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्