नेपाल । फ्रान्सको पेरिसमा शुक्रबारदेखि विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन हुँदैछ । उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुनेछ ।
उक्त खेल मेला साउन २७ गतेसम्म सञ्चालन हुनेछ । औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ।
विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्नेछ ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन् । यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन ।
पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ ।
पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेका छन् । जसबाट अहिले नै सबैभन्दा बढी दर्शकले हेरिने ओलम्पिक हुने पक्का भइसकेको छ । ओलम्पिक सकिँदासम्म एक करोड टिकट बिक्री हुने अनुमान गरिएको छ । आयोजकले पेरिस ओलम्पिकलाई भव्य बनाउन कुनै कसर नछोड्ने बताएको छ। पेरिसमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सेना र ४० हजार प्रहरी परिचालन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्