अमेरिका । अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय मातृका दाहाल र दीपा दाहाललाई संयुक्त प्रदान गर्ने निर्णय गरेको छ ।
दुई लाख राशिको भ्रष्टाचार विरुद्धको “टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’को नतिजा प्रकाशित गर्दै नेपाली पत्रकारितामा चर्चित कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसन पत्रकारिता, साहित्य, संगीतलगायत विभिन्न क्षेत्रमा रहेर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सक्रिय छ । यहीमध्येको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार दाहालद्वयलाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष लेकालीले बताउनुभयो ।
यसअघि हेम–सरिता पाठक फाउन्डेसनले एक लाखको भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१ को उत्कृष्ट पच्चीस र एक लाखको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ को लागि भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिताको नतिजा घोषणा भइसकेको छ ।
यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ ।
यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।
पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्