११ आश्विन २०८१, शुक्रबार

औद्योगिक क्षेत्रमा लगानी गर्न एनआरएनए अभियन्ताहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

कोलोराडोखबर संवाददाता , July 22nd, 2024

नेपाल । नवनियुक्त प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरुलाई औधोगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शनिवार बालुवाटारमा गैरआवासीय नेपाली संघको एक प्रतिनिधिमण्डलसंगको भेटमा उक्त कुरा बताएका हुन् ।

ओलीले नेपालको समृद्धिका निम्ति औधोगिक लगानीमा केन्द्रित हुन एनआरएनलाई आह्वान गरे। ग़ैरआवासीय नेपाली नागरिकहरुको लागि संविधानले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको लागी आवश्यक ऐनमा परिमार्जन गर्ने तथा संयुक्त लगानीको एनआरएन डेभलपमेन्ट फण्ड संचालनको लागि आवश्यक निर्देशिका तत्कालै जारी गर्ने प्रतिबद्धता जनाए ।

ओलीले गैरआवासीय नेपाली संघ स्वतन्त्र र स्वायत्त संस्था भएकोले बाहिरी हस्तक्षेपका कारणले डराउन नपर्ने बताए । उनले संघको स्वतन्त्रता सुनिश्चित गर्न आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बचन दिए ।

सरकारी निवास वालुवाटार पुगेको टोलीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको बधाइ तथा शुभकामना दिएको थियो ।

संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा पुगेका एनआरएनए अभियन्ताहरूसँग प्रम ओलीले करीब एक घन्टा अन्तरक्रिया गरेका थिए । सोहि क्रममा एनआरएनए अभियन्ता बद्री केसीले एनआरएन अभियानले सामना गरेको चुनौती, नेपालमा लगानी सहजिकरण, गैरआवासिय नेपाली नागरिकताको कार्यन्वयनका विषयमा प्रकाश पार्दै सरकारको अग्रगामी भूमिकाका लागि आग्रह गरे ।

उक्त कार्यक्रममा अभियन्ताहरु रोजीना प्रधान राई, अतुल कोइराला, हीराधन राई, भूषण घिमिरे, कृष्ण तिमलसिना, अर्जुन कुमार श्रेष्ठ, बिजन भट्ट, राजु अर्याल, केशब तिमिल्सीना, राजेन्द्र पुडासैनी, पर्शु बस्नेत लगायतको उपस्थिति थियो ।

यसअघि सोही प्रतिनिधि मण्डलले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवालाई भेटेर गैरआवासीय नेपालीहरुका मुद्दाका विषयमा छलफल गरेको थियो ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा स्थापित बहुपद अन्तरर्गतको तीनवटा अध्यक्ष रहेको कार्यसमिति सर्वोच्च अदालतले बदर गरिदिए पछि संस्थाभित्र वैधानिक संकट उत्पन्न भएको छ । संघको आगामी नेतृत्वको लागि नयां निर्वाचन अन्योलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्