–रमेशचन्द्र घिमिरे–
बाटाछेउको पसल
जेरी कति असल
खान्छु बाबा खान्छु म
लान्छु घरमा लान्छु म ।
छोरो यसो भन्दैथ्यो
औँला भाँची गन्दैथ्यो
खान्छु म त दुई तिन्टा
नमान्नू बा क्यै चिन्ता ।
उसले खान थालेको
मुख त्यसै फालेको
अमिलो छ जेरी यो
किन स्वाद फेरियो ।
अस्ति यही मिठो थ्यो
आज किन यस्तो भो ?
भन्नुस् साहुजी मलाई ?
सोध्यो उसले नडराई ।
हाँस्दै दाँत देखाई
‘आएका छौ के खाई ?’
उल्टै साहुले हकारे
कुरा बल्ल सकारे ।
बुद्धि तिम्रो काँ गा’को ?
मुख तिम्रो के भा’को ?
किन स्वाद फेरियो ?
अस्तिकै हो जेरी यो ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्