नेपाल । असार २९ गते शनिबार देश विदेशमा २११औँ भानु जयन्ती उल्लासका साथ मनाइएको छ ।
यसैक्रममा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको भानु जयन्ती विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमा भानुको प्रतिमामा माल्यार्पण, श्रद्धाञ्जली अर्पण, स्रष्टा सम्मान तथा उनको योगदानको चर्चा गरियो ।
प्रज्ञा प्रतिष्ठानबाट प्रभातफेरि सहित शोभायात्रा गरेर पुन प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमै फर्केपछि विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
भाषा साहित्यका वरिष्ठ साधकद्वय प्राडा नोवल किशोर राई र माया ठकुरीलाई रथारोहणसहित सम्मान गरियो भने शोभायात्रा तथा प्रभातफेरीमा उत्कृष्ट भएका विद्यालयहरू पुरस्कृत भए ।
कार्यक्रममा भानुभक्तका रचनाहरू वाचन गरिएका थिए । प्रमुख अतिथि सभामुख घिमिरेले साहित्यले राष्ट्रलाई अघि बढाउँछ भन्नुभयो ।
भानु प्रतिष्ठानले यसै वर्षदेखि प्रदेश संरचना तयार गरी प्रदेशस्तरमै भानु जयन्ती विशेष कार्यक्रमको आयोजना गरेको थियो । सातै प्रदेशमा विशेष कार्यक्रमहरू सम्पन्न भएका छन् । सुदूर पश्चिम प्रदेशको धनगढीस्थित चैतन्य पाठशालाले आकर्षक नगद पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गर्यो ।
देशभित्र र बाहिर रहेका अनेकौँ साहित्यिक संघ स्थाले आआफ्नो ठाउँमा आआफ्नै शैलीमा भानु जयन्ती मनाएका छन् ।
भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति हुन् । उनको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।
रामायण, प्रश्नोत्तर, भक्तमालाआदि उनको चर्चित कृति हुन् । रामायण नेपाली भाषाको आदिमहाकाव्यका रूपमा चिनिन्छ । भानुभक्तका रचना प्रकाशमा ल्याई उनलाई चर्चित बनाउने स्रष्टा मोतीराम भट्ट हुन् । भानुको निधन १९२५ असोज ६ गते भएको हो ।
प्रतिक्रिया दिनुहोस्