९ मंसिर २०८१, आईतवार

बाल गीतिकविताः आज आकाश खुल्यो

कोलोराडोखबर संवाददाता , July 13th, 2024

–रमेशचन्द्र घिमिरे–
कालो कालो बादलुले पानी पार्न भुल्यो
धेरै दिनको झरीपछि आज आकाश खुल्यो ।

यति सफा आकाश कठै मैलो थियोे हिजो
तारन्तारको रुन्चे झरी भा थ्यो साह्रै झिजो ।

जङ्घार तर्न सजिलो भो बाढी केही घट्यो
हिलो माटो ओभानो भो पैह्रो जान हट्यो ।

निलो निलो आकाशमा सेतो बादल डुल्यो
धेरै दिनको झरीपछि आज आकाश खुल्यो ।

उज्यालिए डाँडाकाँडा, गाउँ बस्ती वन
जसै आकाश सफा भयो, सफा भयो मन ।

गरिबको झुपडीमा न्यानो घाम लाग्यो
डरैडरमा कति बाँच्नु पिर टाढा भाग्यो ।

मनकै फूलबारीको फूल हाँस्यो फुल्यो
धेरै दिनको झरीपछि आज आकाश खुल्यो ।

–भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्