–आरसी रिजाल–
टेक्सस अमेरिकामा बस्छन् रमाको छोराबुहारी । दुवैजना जागिरे ।
नाती जन्मेको थाहा पाएपछि छोरासँग मोबाइलमा “नातीको मुख हेर्न र त्यसलाई स्याहार्न साह्रै रहर लाग्या’छ । मलाई कहिले बोलाउँछस् बाबु ?”
छोरा “अहिले हजुरकी सम्धिनी आउनुभएको छ ।
उहाँ फर्केपछि अर्को वर्ष बोलाउला नि ।”
रमा दिन र महिना गन्दै गाउँलेलाई आफू अमेरिका जाने कुरा सुनाउँदै हिँड्थिन ।
पुगिन् अमेरिका । साउँको भन्दा व्याजको माया भन्ने उखान चरितार्थ भयो । टुकुटुकु हिँड्दै नाती केटो हाँसेको र चकचक गरेको देख्दा उनी दङ्ग पर्थिन् । नातीलाई बिहान घुमाउन लैजादा गाजलको र साँझमा घुमाउन लैजाँदा आफ्नो पैतालामा थुक दलेर चन्दन झैँ माटोको टीका लगाइदिन्थिन् । सायद मान्छेको आँखा र भूतप्रेत नलागोस भन्ने आशयले होला ।
रमाले नाती स्याहारेर घरधन्दा गर्दा पनि बुहारीले बेलाबेलामा “यस्तो गर्नपर्छ, उस्तो गर्नपर्छ” भन्दै झर्कोफर्को त गर्थिन् नै। तर आज कार्पेटमा छोरा लडेर ओठ सुन्निएको देखेर रमाको कोखामै बिज्नेगरी तुच्छ वचन प्रहार गरिन् । बचन खप्न नसकेर आँसु पुछ्दै आफ्नो कोठामा छिरिन् । अब छोराको हप्की पनि सुन्नपर्ने हो कि भन्ने त्रास थियो । तर त्यस्तो भएन ।
छोराबुहारीबीच राती के कुरा भयो कुन्नी अर्को दिन बिहानै छोरा आएर भन्यो “आमा मैले तपाईँलाई अस्ति भन्न बिर्सेछु । अब आउने शनिबार तपाईं नेपाल फर्कने टिकट लिइदिएको छु । आफ्नो ब्याग मिलाउदै गर्नु होला ।” यति भनेर ऊ फरक्क फर्कियो ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्