१० मंसिर २०८१, सोमबार

अनेसासको निर्वाचन शनिवार र आइतवार हुँदै, निर्वाचन पर्यवेक्षणका लागि समिति गठन

कोलोराडोखबर संवाददाता , July 4th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०२४-२०२६ को कार्यसमिति निर्वाचनका लागि निर्वाचन पर्यवेक्षक समिति गठन गरिएको छ । समितिले यही शनिवार र आइतवार हुने निर्वाचनको पर्यवेक्षण गर्ने छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवर्ध्दन पूजाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले डा. मुकुन्द पथिक (नेपाल, हाल अमेरिका), डा. संगीता स्वेच्छा (बेलायत), डा. काशीराज पाण्डे ( अष्ट्रेलिया, हाल नेपाल), विश्व बराल (अमेरिका) र विष्णु सुवेदी (जापान) लाई निर्वाचन पर्यवेक्षक समितिमा मनोनित गरेको हो ।

यसैगरी निर्वाचन समितिको सिफारिसमा गण्डकी पुत्र (पेन्सिलभेनिया), मुरारी गुरागाई (केन्टुकी), चन्द्रविष्ट अविरल (भर्जिनिया), प्रतिमा भट्टराई (वाशिङटन डिसी) र सुनिता बस्नेत (मेरिल्याण्ड) लाई पनि पर्यवेक्षक समितिमा चयन गरिएको छ ।

विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय आजीवन सदस्य रहेका छन् । भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजनासहित निर्वाचन गरिने अध्यक्ष गोवर्द्धन पूजाले बताए ।

निर्वाचनले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट १–१ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । दुई जना सदस्य केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

अनेसासको अध्यक्षमा वाग्ले र निरौला तथा महासचिवमा सिटौला र गिरीको उम्मेदवारी दर्ता

प्रतिक्रिया दिनुहोस्