अमेरिका । अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । कार्यक्रम बाल्टिमोरको फेमिली किचेनको सभाहलमा भएको थियो ।
जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरील्याण्ड च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, एनआरएनए आइसीसीका पूर्वअध्यक्ष रबिना थापा, जयनेपाल फाउन्डेसनका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेल, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष डा. श्याम कार्की र लेखक तथा अनुवादक सुवास घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका थिए ।
लोकार्पण गरिएको उक्त पुस्तकमाथिको चर्चा गर्दै बक्ताहरुले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा आफ्नो आफ्नो ढंगले ब्याख्या गरे । बिपीको संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण नेपालीहरुले अमेरिका लगायतको विदेशी भूमिमा समेत राम्रो अवसर पाउन सफल भएको भन्दै बक्ताहरुले बिपी कोइरालाजस्ता दुरदर्शी नेताको अभावले पनि नेपालको बिकासले गति लिन नसकेको टिप्पणी गरे ।
पुस्तकको समिक्षा गर्दै हिन्दुबुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष एबम समाजसेवी डा. श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरुले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गरे । “त्यो बेलाको कङगारु कोर्टमा उपस्थित भएर बिपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो”, उनले भने, “यस्तो महत्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाका अध्यक्ष एवम् पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बिपी कोइरालाले अदालतमा व्यक्त गरेको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्वपूर्ण दस्तावेज भएको भन्दै पुस्तकको अध्ययनले नेपाली राजनीतिको इतिहास बुझ्न सहज हुने बताए ।
पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बिपीले अदालतमा व्यक्त गरेको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताए । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. यादव पण्डितले बिपीको योगदान भावी पिँढीसम्म पुर्याउन लेखकले गरेको प्रयासको प्रशंसा गरे।
प्रतिक्रिया दिनुहोस्