५ माघ २०८१, शनिबार

फ्रान्स र पोर्चुगल युरो कपको अन्तिम ८ मा

कोलोराडोखबर संवाददाता , July 2nd, 2024

अमेरिका । जर्मनीमा जारी युरो कप २०२४ मा बेल्जियमलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाति गोलको मद्दतमा फ्रान्स अन्तिम आठमा पुगेको हो ।

खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । फ्रन्सका रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको थियो। सोही गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

दुई दावेदार टोली बीच आँकलन गरेभन्दा केही फितलो खेल प्रदर्शन गरेका थिए । अन्त्यमा खेलको छिनोफानो आत्मघाती गोलले हुन पुग्यो । फ्रान्सले अब क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ ।

यसैगरी गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी बचाउँदा पोर्चुगल युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्लोभेनियासँग निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो ।

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्