१२ आश्विन २०८१, शनिबार

एनआरएनए अमेरिकाको १३औं वार्षिक साधारण सभा तथा ज्ञान सम्मेलन बाल्टिमोरमा हुने

कोलोराडोखबर संवाददाता , June 26th, 2024

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको १३औं साधारण सभा तथा ज्ञान सम्मेलनु अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा हुने निश्चित भएको छ । उक्त साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न एनआरएनए एनसीसी अमेरिका आवश्यक अन्तिम तयारीमा जुटिसकेको छ ।

यस सम्बन्धमा जानकारी दिने उद्देश्यले गत जुन २३ तारिख आइतवार भर्चुअलमार्फत पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा आसन्न साधारण सभा आउदो जुलाई १३ र १४ तारिख शनिवार र आइतवारका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोर सिटीको 1100 Cromwell Bridge Rd,Towson, MD-21286 स्थित Holiday Inn Express Towson मा हुने निश्चित भएको जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा संघका कार्यवाहक अध्यक्ष एवम् १३औं साधारण सभा एवम् ज्ञान सम्मेलनका कन्भेनर बिकाश उप्रेतीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अन्तिम तयारीमा जुटिसकेको जानकारी दिएका थिए । उनले जुलाई १२ तारिख शुक्रवार च्याप्टर नाइट (च्याप्टरहरुका अध्यहरुसहितको विषेश कार्यक्रम) गर्ने, १३ तारिख शनिवार साधारण सभा एवम् ज्ञान सम्मेलनको उद्घाटन तथा विज्ञहरुसहितको ज्ञान सम्मेलन गर्ने र १४ तारिख आइतवार बन्द सत्र गरी सांस्कृतिक कार्यक्रमसहित साधारण सभा समापन गर्ने गरी तयारीलाई तिब्रता दिइएको जानकारी दिए ।

यस पटकको साधारण सभा विशेष गरी विधान संशोधनमा केन्द्रित हुने भएकाले सोही अनुसार गृहकार्यहरु भइरहेको जनइएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमको विस्तृत कार्यतालिका र तयारीका सम्बन्धमा थप जानकारी छिट्टै सार्वजनिक गरिने बताउँदै कार्यवाहक अध्यक्ष एवम् कन्भेनर उप्रेतीले संघमा आबद्ध सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिता जनाउन अनुरोधसमेत गरेका थिए । उनले साधारण सभामा नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई निमन्त्रणा गरिसकिएको र अन्य अतिथिहरुलाई पनि निमन्त्रणा गर्ने कार्य सचिवालयबाट भइरहेको जानकारी दिए ।

यसैगरी, पत्रकार सम्मेलनमा संघका युवा उपाध्यक्ष एवम् को–कन्भेनर अनुप खनाल , उपाध्यक्ष एवम् ज्ञान सम्मेलनका संयोजक भानु खरेल, महासचिव रामहरि अधिकारी र मेडिया कोअर्डिनेटर सतिश चापागाँईले तयारीका दौरानमा हालसम्म भएका प्रगतिहरु र हुँदै गरेका कामहरुका बारेमा थप जानकारी दिएका थिए । प्राप्त जानकारी अनुसार साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न प्रवासी नेपालीहरुका स्थानीय संघ संस्थाहरुसंग पनि आवश्यक छलफल गरिसकेको र स्थानीय संघ संस्थाहरुले पनि साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

संघले सहभागीहरुलाई कार्यक्रम हुने होटल होलीडे इन एक्सप्रेस टोसन र अन्य नजिकैका होटलहरुमा बास बस्ने व्यवस्था गरेको छ । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार सदस्यहरुले साधारण सभामा भाग लिनका लागि संघले उपलब्ध गराएको लिंकमा गएर एक सय डलर दर्ता शुल्क तिरी आफ्नो नाम दर्ता गर्नु पर्नेछ । त्यसका लागि दर्ता खुला गरिसकिएको र दर्ताका लागि लिंक सार्वजनिक गरिसकिएको छ । नाम दर्ता गरेर सहभागी हुने सदस्यहरुका लागि साधारण सभा अवधिभर संघले नै नास्ता तथा खानाको व्यवस्था गर्ने र बासका लागि भने संघले समन्वय गरिदिने भएतापनि लाग्ने खर्च भने सहभागी सदस्य स्वयंले बेहोर्नु पर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीले नेजा र एनआरएनएको मूल उद्देश्यमा समानता रहेको र नेजाका सदस्यहरु पनि एनआरएनएमा आबद्ध रहेको स्मरण गराउँदै दुबै संस्था मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । सम्बोधनका क्रममा उनले एनआरएनएको आसन्न साधारण सभा तथा ज्ञान सम्मेलन गैर आवासीय नेपालीहरुका लागि अत्यन्त महत्वपूर्ण रहेको जिकिर गर्दै साधारण सभाको सफलताको कामनासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्