४ माघ २०८१, शुक्रबार

आइसिसी टी-२० मा भारत र वेस्ट इन्डिज विजयी, अमेरिका र बंगलादेश बाहिरिए

कोलोराडोखबर संवाददाता , June 23rd, 2024

नेपाल । आइसिसी टी–२० विश्वकपअन्तर्गत ‘सुपर–८’ मा भारत सेमिफाइनलको नजिक पुगेको छ ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले । उनले २७ बलमा ५० रन पूरा गरे ।

विराट कोहलीले ३७ रनको योगदान दिए । कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए । अक्षर पटेल ३ रनमा अविजित रहे ।

पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ ।

यसैगरी शनिबारनै सम्पन्न अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हराएको छ । टी–२० विश्वकपको २०२४ को सुपर(८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गर्यो । सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।

यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो ।

अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्