४ माघ २०८१, शुक्रबार

यूरो कपमा स्पेन विजयी, इङ्ल्यान्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाले अंक बाँडे

कोलोराडोखबर संवाददाता , June 21st, 2024

नेपाल । जर्मनीमा जारी यूरो कप २०२४ अन्तरगत भएको खेलमा इटालीलाई पराजित गर्दै स्पेनले युरो २०२४ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बिहीबार राति भएको खेलमा इटालीलाई १–० ले पराजित गर्दै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको ५६औँ मिनेट रिकार्डो कालाफियोरीले आत्मघाती गोलको कारण स्पेनले बाजी मार्‍यो । यो नतिजापछि स्पेनले लगातार दुई खेल जित्दै समूह बी मा ६ अंक बनाएको छ। इटालीको ३ अंक रहेको छ ।

त्यस्तै राति नै सम्पन्न अर्को खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा सर्बिया विरुद्ध १–० को जित निकालेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन ।

नतिजापछि समूह सीमा रहेको इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ । सर्बिया र स्लोभेनियाले बिहीबार नै १–१ को बराबरी खेलेका थिए ।

यसैगरी बिहीबार साँझ भएको समूह सी को खेल सर्विया र स्लोभेनियाले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सुरुवाती अग्रता लिँदै युरोमा पहिलो जित नजिक पुगेको स्लोभेनिया इन्जुरी टाइममा गोल खाँदा जितबाट बञ्चित भयो । सर्वियाले इन्जुरी टाइममा गोल फर्काउँदै हार टारेको हो ।

स्लोभेनियाले अब अन्तिम खेलमा इंग्ल्याण्डको सामना गर्नेछ भने सर्वियाले डेनमार्कसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्