३ माघ २०८१, बिहीबार

गायिका मधु क्षेत्री फेरि सम्बन्ध तोड्ने संघारमा !

कोलोराडोखबर संवाददाता , June 20th, 2024

नेपाल । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतबाट परिचित भएकी गायिका मधु क्षेत्रीको पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् ।

मधुले अष्ट्रेलिया बस्ने प्रेमी सुरेश खड्कासँग दुई वर्षअगाडि कोर्ट म्यारिज गरेकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्स गरेर एकल जीवन बाँच्दै आएकी मधु नयाँ जीवनसाथीका रूपमा सुरेशलाई पाउँदा निकै खुशी थिइन् । सुरेश पनि डिभोर्सी थिए । विवाहपछि दिएका अन्तर्वार्तामा मधुले श्रीमानको जमेर प्रशंसा गर्थिन् । श्रीमानबाट प्रचुर माया पाएको भनेर आत्मरती व्यक्त गर्थिन् ।

मधुको खुशी लामो समय टिक्न सकेन । गत डिसेम्बरमा उनी आफ्नी हुर्केकी छोरी (पहिलो श्रीमानपट्टिकी) समेतलाई लिएर अष्ट्रेलिया गइन् । उनी आफ्नो सांगीतिक करिअरलाई बिट मारेरै अष्ट्रेलिया सेटल हुन गएकी थिइन् । उनले विवाहपछि अन्तर्वार्तामा अब संगीतबाट टाढिने घोषणा गरिसकेकी थिइन् ।

अष्ट्रेलियामा मधुका श्रीमान सुरेश आफ्नो बुवाआमासँग बस्दै आएका छन् । मधुकी छोरीलाई पनि स्वीकारेर आफूसँगै राख्न उनी तयार भएका थिए । सुरेशको पनि पहिलो श्रीमतीबाट सन्तान छन्, तर उनीहरू बुवासँग बस्दैनन् ।

अष्ट्रेलिया पुगेपछि मधु र छोरी दुवैले जागीर गरिरहेका थिए । तर, केही समयपछि श्रीमान–श्रीमतीको सम्बन्धमा तनाव सुरु भयो । दुवैले एक–अर्काप्रति शंका गर्न थालेका थिए । आफूसँग बिहेपछि पनि श्रीमान अरुसँग सम्बन्धमा रहेको मधुको शंका थियो भने सुरेशले पनि पत्नीप्रति यस्तै शंका गर्थे । यही कारणले उनीहरूबीच तिक्तता बढेको निकट स्रोत बताउँछ ।

अन्ततः उनले टिकटक र फेसबुकबाटै आफ्नो धरापमा परेको वैवाहिक सम्वन्धबारे खुलासा गरिन् । उनले फेसबुकमा स्टाटस लेखेर श्रीमानमाथि तथानाम गाली गरेकी छन् । यो प्रकरणमा मधुका श्रीमान सुरेशको साइडबाट कुनै पनि भनाइ आएको छैन । यद्यपि, उनले फेसबुकमा प्रतिक्रिया लेख्दै एकजनाको कुरा मात्र सुनेर आफूलाई गाली नगर्न अपिल गरेका छन् । –नेपालप्रेसबाट

प्रतिक्रिया दिनुहोस्