१० मंसिर २०८१, सोमबार

निरन्तर छलफलमा सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समिति

कोलोराडोखबर संवाददाता , June 19th, 2024

नेपाल । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले मंगलबार सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत सम्बन्धित निकायसँग छलफल गरेको छ ।

संसद भवन बानेश्वरमा बसेको बैठकले समस्याग्रस्त सहकारीको अवस्था, कानूनी समस्या र नियमनको व्यवस्था लगाएतका विषयमा सरोकारवाला निकायसँग छलफल गरेको हो ।

बैठकमा २० वटा समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिवले लिखित प्रतिवेदन बुझाएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

बाँकी अनुसूचीमा रहेका २९ वटा समस्याग्रस्त सहकारीका विषयमा सहकारी विभागका तर्फबाट जानकारी लिइएको उनले बताए । बैठकमा सहकारी क्षेत्रमा समस्या आउनुको कारणबारे जानकारी लिएको र समितिमा प्राप्त सहकारीको प्रतिवेदनका आधारमा छलफल अघि बढाउने उनले बताए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्