नेपाल (हेटौंडा) । राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि मकवानपुरका दिपक राज कालीराजले हात पारेका छन् । नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडीया प्रालि काठमाण्डौँको सह-आयोजनामा सञ्चालित प्रतियोगितामा कालिराजले उपाधि हात पारेका हुन् ।
यहि बिहिबार गरिएको फाइनल राउण्डमा प्रतिष्पर्धी प्रतिभाशाली युवाहरु मध्येबाट मकवानपुरका कालीराज प्रथम हुनुभएको थियो भने धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् ।
सम्भवतः नेपाल सरकारबाट राष्ट्रिय स्तरमा संचालन गरिएको पहिलो गायन रियालीटी सो मा १६ वर्ष कटेका ४० वर्ष ननाघेका देशैभरिबाट आधुनिक, लोक र पप/र्याप विद्यामा अभिरुची राख्ने ६५ जना युवाहरुले आफूले गायर भिडियो पठाएका थिए ।
उक्त डिजिटल अडिसनमा सहभागी प्रतिष्पर्धी मध्येबाट २१ जना युवा प्रतिभाहरुलाई छनौट गरि फिजिकल अडिसन अर्थात फिजिकल प्रतिष्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो । सोहि २१ जना प्रतिष्पर्धी मध्येबाट टप ९, टप ९ प्रतिष्पर्धीबाट टप ६, टप ६ प्रतिष्पर्धी मध्येबाट टप ३ छनौट गरि पुनःटप ३ प्रतिष्पर्धी बीच कडा प्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतिय बिजेता घोषणा गरिएको थियो ।
उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको डिजिटल अडिसन देखि फिजिकल अडीसन र फाइनल राउण्ड सम्म सम्पूर्ण युवा प्रतिभाहरुको निश्पक्ष गायन क्षमता मूल्याङकन गर्नका लागि संगीतकार वीपी वाग्ले, लोक गायिका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।
नेपाल पर्यटन वोर्डको हलमा संचालित उक्त राष्ट्रिय युवा गायन प्रतियोगिताको समापन समारोहको अवसरमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेतको अतित्थ्यतामा विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा योगदान दिएका पत्रकारहरुमध्ये फोटो पत्रकारिता तर्फ कान्तिपुर कर्मी प्रकाशचन्द्र तिमील्सेना, पर्यटनतर्फ राससकर्मी सिबी अधिकारी, कला साहित्यतर्फ गोरखापत्रकर्मी सुकृत नेपाल, चलचित्र अनलाइन पत्रकारिता तर्फ नवीन गिरी, देशप्रेम सप्ताहिककर्मी तारा सुवेदी, आलोचना साप्ताहिककर्मी गंगा वराल र स्पेश फोर के कर्मी विनिता कुँवर क्षेत्रीलाई कदर पत्र द्वारा सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्