१२ आश्विन २०८१, शनिबार

अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतमा प्रल्हाद केसी नियुक्त

कोलोराडोखबर संवाददाता , June 13th, 2024

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । नेपाल सरकारले अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि प्रल्हादबहादुर केसीलाई अवैतनिक वाणिज्यदूतको नियुक्त गरेको छ ।

अमेरिकाको म्यासाचुसेट्स राज्यमा कन्सुलर अधिकार क्षेत्रमा नेपाल सरकारको प्रतिनिधिका रुपमा काम गर्नका लागि केसीलाई अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्त गरिएको हो । यस सम्बन्धमा नव नियुक्त अवैतनिक वाणिज्यदूत केसीले आफूले नेपाल सरकारबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यका लागि अवैतनिक वाणिज्यदूतका रुपमा नियुक्ति प्राप्त गरेको पुष्टि गरेका छन् । नेपाल सरकारले झण्डै एक महिना अघि नै केसीलाई नियुक्ति पत्र प्रदान गरिसकेको छ ।

केसीका अनुसार उक्त नियुक्ति पत्रमा उनको नियुक्तिले संयुक्त राज्य अमेरिकाको सरकार र बृहत् समुदायबाट नेपाललाई सहयोग, समझदारी र समर्थन बढाउनमा टेवा पुग्ने नेपाल सरकारले विश्वास लिएको उल्लेख छ । केसीलाई नियुक्ति गर्न पाएकोमा नेपाल सरकारले खुसी व्यक्त गर्दै नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र व्यावसायिक हित र आफ्नो क्षेत्राधिकारभित्र बस्ने नेपाली नागरिकको संरक्षण र प्रवर्द्धन गर्नमा केसी जिम्मेवार भएर लाग्ने विश्वास लिएको छ।

यसैगरी, नियुक्ति पत्रमा केसीको बृहत् अनुभव र गहिरो ज्ञान संयुक्त राज्य अमेरिकामा नेपालको हितलाई अगाडि बढाउन र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अमूल्य रहनेमा नेपाल सरकार विश्वस्त रहेको उल्लेख गरिएको छ। नेपाल र अमेरिकाबीचको सम्बन्ध निरन्तर फस्टाउँदै गएको बखत केसीको नियुक्ति भएको जनाउादै उनको नेतृत्व र समर्पणले साझेदारीलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेसमेत नेपाल सरकारले अपेक्षा गरेको छ ।

केसीको प्रयासले म्यासाचुसेट्समा रहेका नेपाली समुदायको हित र दुवै राष्ट्रको आपसी समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने नेपाल सरकारले आशा राखेको छ। नेपाल सरकारले नियुक्ति पत्रमार्फत केसीलाई अवैतनिक कन्सुलको रूपमा नियुक्ति भएकोमा शुभकामना व्यक्त गर्दै कार्यकालको सफताकोसमेत कामना गरेको छ ।

यस सम्बन्धमा कुराकानी गर्दै अवैतनिक वाणिज्यदूत केसीले नेपाल सरकारले आफूलाई प्रदान गरेको आधिकारिक नियुक्तिले थप जिम्मेवार बनाएको बताए । बिगत लामो समयदेखि आधिकारिक नियुक्ति नपाएपनि नेपाल र नेपालीको भलोका खातिर आफूले सक्दो काम गर्दै आइरहेको उनले जिकिर गरे ।

आधिकारिक रुपमा नेपाल सरकारबाट प्राप्त नियुक्तिप्रति खुशी व्यक्त गर्दै उनले विगत लामो समयदेखि आफूले नेपाल र नेपालीका लागि पुर्याउदै आएको योगदानको नेपाल सरकारद्वारा कदर भएको र थप काम गर्न उत्प्रेरणा दिदै थप जिम्मेवारी प्रदान भएको प्रतिक्रिया दिए । केसीले नेपाल सरकारले आफूलाई विश्वास र भरोसा गरेर महत्वपूर्ण अपेक्षा राख्दै प्रदान गरेको महत्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न आफू इमानदारीपूर्वक सक्दो सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

झण्डै ५० वर्ष अघि नेपालबाट अध्ययनको सिलसिलामा अमेरिकाको म्यासाचुसेट्स भित्रिएदेखि नै केसीले नेपाल र नेपालीहरुको हितका लागि महत्वपूर्ण योगदान पुर्याउदै आइरहेका छन् ।

सन् १९९५ देखि गोभर्नस् एण्ड इमिग्रेन्ट अफ कमन वेल्थ अफ म्यासाच्युसेट्समा आबद्ध भएर काम गर्दैआइरहेका उनले हाल चियरम्यानको भूमिका निर्वाह गरिरहेका छन् । यसै वर्षको गत मे महिनामा उनी एसियाली अमेरिकी र प्रशान्त टापुवासी आयोग, म्यासाचुसेट्स (Asia American and Pacific Islander Commission of Commonwealth of Massachusetts) को बहु प्रतिष्ठित लाईफटाइम अचिभमेन्ट२०२४ ( lifetime Achievement Award-2024) बाटसमेत सम्मानित भएका थिए।

प्रतिक्रिया दिनुहोस्