९ मंसिर २०८१, आईतवार

दुर्गा प्रसाईको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

कोलोराडोखबर संवाददाता , June 8th, 2024

नेपाल । झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ ।

बिहीबार न्यायाधीश डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो ।

गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको छ ।

चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका लागि लागेको संस्थालाई निषेध गर्न नहुने आदेशमा उल्लेख छ । बिएण्डसीले २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको थियो । त्यसपछि चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धनका लागि भन्दै २०७६ फागुनमा आयोगमा निवेदन दिएको थियो ।

आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्