नेपाल । अमेरिकामा जारी टी२० विश्वकपमा बिहीबारको खेलमा युगान्डाले पपुगा न्युगिनीलाई तीन विकेटले पराजित गरेको छ । जितका लागि ७८ रनको लक्ष्यलाई युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर प्राप्त गरेको थियो ।
यस्तै अर्को खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको छ । ओमानको यो लगातार दोस्रो हार हो । जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेटमा १ सय ६४ रन बनाएको थियो ।
यता, घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको छ । समूह ए मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको हो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पर्दथ्यो । सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए ।
१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै सुपर ओभरमा पुर्याएका थिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । अमेरिकाले पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो । अमेरिकाले अव १२ जुनमा भारत र १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ ।
त्यसैगरी स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा नामिबियालाई ५ विकेटले हराएको छ । समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पारेको हो । १५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो । स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल वर्षाको कारण रद्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्