१० मंसिर २०८१, सोमबार

बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्छः बर्तौला

कोलोराडोखबर संवाददाता , June 7th, 2024

नेपाल (हेटौँडा) । जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो त्रैमासिक समीक्षा कार्यक्रम भएको छ ।

समिक्षामा बागमती प्रदेश स्तरका कार्यालय र मकवानपुर जिल्लास्तरका कार्यालयले यो तीन महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उद्घाटन् गरे । उनले बागमती प्रदेशको राजधानी हेटौँडा फराकिलो हुनुपर्ने बताएका छन् । उनले हेटौँडाको सडक २५ मिटर फराकिलो हुनुपर्नेमा जोड दिए । उनले सडक बिस्तार गर्दा कसैलाई पनि आकाशमुनिको वास बनाउन नहुने स्पष्ट पारे ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राजस्व वृद्वि गर्न र प्राकृतिक स्रोतहरूको सदुपयोग गर्नुपर्ने बताए । उनले जिल्लाको विकास, अवस्था, समस्या र उपलब्धिका विषयमा छलफल हुनुपर्ने बताए ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले स्थानीय तहलाई बलियो बनाउँदै लानुपर्ने बताउँदै सङ्घ, प्रदेशको कानुन स्पष्ट नहुँदा समस्या आएको बताइन् । उनले नदीजन्य बस्तुको उत्खनन गरेर राजस्व सङ्कलनमा कानुनी अप्ठ्यारो भएको गुनासो गरिन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले प्राकृतिक स्रोतको अधिक दोहन भएकोमा चिन्ता व्यक्त गरे ।

प्रदेश कोष तथा नियन्त्रण कार्यालयका हरिप्रसाद उपाध्यायले जिल्लामा ६ अर्व २५ करोड कुल निकास गरेको बताए । चालू खर्च तर्फ ३ अर्ब ३७ करोड र पुँजीगत २ अर्ब ८८ करोड खर्च भएको जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेस सभापति बुद्ध लामा, माओवादी केन्द्र संयोजक भिम पाख्रिन, समाजवादी मकवानपुर अध्यक्ष बिष्णु दहाल, राप्रपाका गुरुप्रसाद सापकोटा, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा लगायतकाले शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लागत प्रगति विवरण पेश गरिएको थियोे । उप प्रमुख सानुकाजी लुइँटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईंले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्