३ माघ २०८१, बिहीबार

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

कोलोराडोखबर संवाददाता , June 4th, 2024

नेपाल । सोमबार फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् ।

मालीगाउँ प्रहरीले काठमाडौंको बालुवाटारस्थित एक होटलबाट सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । गत वर्ष रिलिज भएको फिल्म ‘प्रसाद–२’को लेनदेनको विवादमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा लगिएको थियो ।

गत असोजमा ‘प्रसाद–२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । उजुरी परेको ७ महिनापछि उनी पक्राउ परेका हुन् । अदालतबाट पक्राउ पूर्जी जारी हुँदा पनि उनी खुल्लमखुल्ला हिँडिरहेका थिए ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । निर्देशक थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो । अग्रवाललाई त्यसबेलै पक्राउ गरेर प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । मिलन भने पक्राउ परेका छैनन् ।

पक्राउ पर्नुअघि निर्देशक थापा आफ्नो नयाँ फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्ने तयारीमा थिए । उनी पक्राउ परेपछि फिल्मको छायांकन रोकिएको छ ।

सुदर्शन नेपाली फिल्मका सफल निर्देशक मानिन्छन् । उनले ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ जस्ता एक दर्जन बढी फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्